सुदूरपश्चिम प्रदेशको प्रवेशद्धारका रुपमा रहेको कैलालीको गोदावरी नगरपालिकामा अवस्थीत मालाखेती अस्पताल यहाँको एकमात्रै सरकारी अस्पताल हो । यहाँ नगरभित्रका मात्रै नभई कञ्चनपुरका पनि विभिन्न क्षेत्रका नागरिकहरुले स्वास्थ्य सेवा लिने गर्दछन । लामो समयसम्म उचित व्यवस्थापन हुन नसक्दा राम्रो सेवा सुविधा दिन नसकेपनि अस्पतालमा केही महिना अघिदेखि व्यवस्थापनको कार्य राम्रो हुनै आएको थियो अस्पतालको राम्रो व्यवस्थापनकै कारण गत पुष १ गतेदेखि अस्पतालमा ओटी र इन्डोर सेवाहरु सुरु गरिएका थिए । त्यतिमात्रै नभइ अस्पतालमा पहिलो पटक सफल शल्यक्रिया समेत गरिएको थियो ।
स्थापनाकालदेखि नै दरबन्दी अनुसारको डाक्टर अभाव रहेको अस्पतालले पछिल्लो एक वर्षदेखि एमडिजिपि डाक्टर पाएको छ । दरबन्दी अनुसारका डाक्टर हुँदा सेवा प्रभावमा कमी हुने कुरा थिएन् । तर गत चैत २७ गते गर्भवती महिलाको मृत्यु भएपछि भने अस्पतालको सेवा प्रवाहमा केही खस्किदोपन देखिएको छ । अस्पतालले सुरु गरेका ओटी र इन्डोर सेवाहरु हालसम्म सञ्चालनमा आउन सकेका छैनन् । जसका कारण बिरामीहरुले अन्य ठाउँमा महंगो मुल्य तिरेर उपचार गराउनुपर्ने बाध्यता छ । अस्पतालको ओपीडीमा बिरामीको चाप थेगिनसक्नु भएपनि ओटी, इन्डोर सेवा भने संचालनमा आउन सकेका छैनन । सुरुवाती चरणदेखी नै स्वास्थ्य चौकीको जस्तो सेवा दिइरहेको अस्पतालले पछिल्लो एक वर्षयता देखी सेवा विस्तार गरेर गुणस्तरिय सेवा दिदै आएको थियो ।


गोदावरी नगरपालिका मातहत रहेको उक्त अस्पतालमा पुस १ गते देखि इन्डोर सेवा सुरु भएको थियो भने चैत १५ गते देखि अपरेशन सेवा पनि सुचारु भएको थियो । सोही दिन अस्पतालमा एक सुत्केरी महिलाको सफल अप्रेशन पनि गरिएको थियो । सेवा विस्तार भएर अस्पताल चौविसै घण्टा पुर्ण रुपमा संचालनमा आएको भएपनि चैत २७ गते सुत्केरी महिलाको मृत्यु भएपछि भने हालसम्म पनि अस्पतालमा अपरेशन सेवा सूचारु हुन सकेको छैन । अपरेशन सेवा बन्द भएपछि हाल इन्डोर सेवा पनि बन्द जस्तै रहेको छ ।
अस्पतालमा हाल एक जना एमडीजीपी सहित ३ जना एमबिबिएस डाक्टरहरुले सेवा दिइरहेका छन । दैनिक सयौको संख्यामा ओपिडिमा विरामी आइरहदा अन्य सेवाहरु भने बन्द गरिएका छन । बन्द गरिएका अन्य स्वास्थ्य सेवाहरु सुचारुका लागि भने कुनै निकायबाट पहलकदमी हुन सकेको छैन । स्वास्थ्य मानिसलाई नभइ नहुने आधारभुत आवश्यकता हो । त्यसैले स्वास्थ्य जस्तो संवेदनशिल कुरामा ध्यान नदिइनु उपयुक्त होइन । नजिकको अस्पतालबाटै सबै स्वास्थ्य सेवा एकदमै न्यून मुल्यमा पाइए नागरिकहरुले बाहिर जानुपर्ने अवस्था रहदैन । तसर्थ मालाखेती अस्पतालको व्यवस्थापन अझै बलियो बनाइ यहाँ अन्य विभिन्न स्वास्थ्य सेवाहरु सञ्चालनमा ल्याउन जरुरी छ ।
यहाँका नागरिकहरुले महंगो मुल्य तिरेर धनगढीका अस्पतालहरुमा उपचार गराउनुपनुपर्ने बाध्यताको अन्त्य गर्न सरोकारवाला निकायले पनि तदारुकता देखाउनुपर्दछ । अस्पतालमा स्वास्थ्य सेवाहरु वृद्धि गरी नागरिकहरुलाई सहज स्वास्थ्य सेवा दिन जरुरी छ ।














