कैलालीको गोदावरी नगरपालिकामा एकिकृत कृषि तथा पशु सेवा केन्द्र सञ्चालनमा आउदैछ । त्यसका लागि नगरपालिकाको वडा नं. १ कार्यालय नजिकै केन्द्रको भवन पनि निर्माण भैरहेको छ । विश्व बैंकको लागत सहयोगमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्र्तगत रहेको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले कार्यान्वयन गर्ने गरी आर्थिक करिडर कार्यालय डडेल्धुराले उक्त भवन ठेक्का प्रकृया मार्फत निर्माण गरिरहेको छ ।
महाकाली करिडोरमा जोडिएका १७ वटा पालिकाहरुमा आयोजनाले काम गरिरहेको छ । जसमा पहिलो पटक १० वटा पालिकाहरुमा आयोजना अन्र्तगत नै रहेको एकिकृत कृषि तथा पशुपंक्षी सेवा केन्द्रको भवन निर्माण भैरहेका छन । कैलालीमा गोदावरी नगरपालिका र चुरे गाउँपालिकामा केन्द्रको भवन निर्माण भैरहेको छ ।


केन्द्रको भवन निर्माण भए सो भवनबाट किसानहरुको सहजताका लागि, किसानहरुका समस्याहरुको समाधानका लागि विभिन्न कार्यहरु गरिने बताईएको छ । केन्द्रमार्फत कृषि तथा पशुका कार्यक्रमहरु, बालीका कार्यक्रमहरु तथा किसानहरुसँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरु सञ्चालन गरिनेछन ।
उक्त भवनमा कृषि तथा पशु ल्याब सहितको व्यवस्था रहने भएको छ । हालसम्म कैलालीको गोदावरी नगरपालिकाले किसानहरुलाई ल्याबको लागी बाहिर पठाउनुपर्ने बाध्यता थियो । तर अब केन्द्रको भवन बने त्यसले किसानहरुलाई एकदमै सहज हुने बताईएको छ । कोरोना महामारीका कारण सृजित खाद्य आपुर्तिको श्रृंखला सुधार गर्न र स्थानीय अर्थव्यवस्था सुदृढ गर्न पनि आयोजनाले केन्द्रमार्फत कृषि क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आईरहेको छ । जसको प्रत्यक्ष फाईदा किसानहरुले लिने गरेका छन ।
उक्त भवन निर्माण भएपश्चात सञ्चालन हुने कृषि कार्यक्रमहरुले नगरका किसानहरुलाई नै फाईदा पुग्नेछ । त्यसकारण उक्त भवनको निर्माणमा सबैले सहयोग गर्न जरुरी छ । विशेष गरी स्थानिय पालिकाले उक्त भवनको यथाशक्य निर्माणका लागि ठेकेदार कम्पनीलाई सुरुदेखि नै घचघच्याउन जरुरी छ ।
९० प्रतिशत कृषि समस्याहरुको समाधान गर्ने गरी सञ्चालनमा ल्याउन थालिएको उक्त भवन बन्नु यहाँका किसानहरुको लागि खुसीको खबर हो । स्थानीयस्तरका किसानहरुलाई कृषि पेशाबाट व्यवसायीक बनाउने र रोजगार बनाउने लक्ष्य पनि यसले पुरा गर्न सक्छ । तसर्थ यसको तिब्र निर्माण र सञ्चालन हुन आवश्यक छ ।















