कैलालीको अत्तरियामा कोल्ड स्टोर निर्माणको प्रकृया सुरु भएको ६ वर्ष बित्न लागिसकेको छ । २०७५ साल पुषतिर कोल्डस्टोरको निर्माण प्रकृया थालेर करिब ६ महिना भित्र नै भौतिक संरचना निर्माणको काम सम्पन्न भैसकेको थियो । तर निर्माण सम्पन्न भएको ६ वर्षसम्म पनि कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । कृषि उपज थोक बजारमा फाउण्डेसन तयार गरिएको भएपनि आवश्यक उपकरण जडान हुन नसक्दा कोल्ड स्टोर संचालनमा आउन ढिलाई भएको छ । आवश्यक उपकरणहरु जडानको जिम्मा पाएको ठेकेदार कम्पनिले आर्थिक कारण देखाएर काम अलपत्र पार्दा भौतिक संरचना निर्माण भैसकेको कोल्ड स्टोर बन्द अवस्थामा छ ।
निजी क्षेत्रको पहलमा कोल्ड स्टोर निर्माण गर्ने भनेर स्थापना थालिएपनि संघिय सरकार मातहतमा रहेको कृषि उपज थोक बजारमा निजी क्षेत्रले लगानी लगाउन नमिल्ने भएपछि सरकारले निर्माणको प्रकृया थालेको थियो । कोल्ड स्टोर निर्माणका लागि कृषि मन्त्रालय मार्फत अर्थ मन्त्रालयले ५० लाख रुपैया, गोदावरी नगरपालिकाले ४५ लाख रुपैया र कृषि बजार व्यवस्थापन समितिले १० लाख रुपैया लगानी लगाएका थिए । उनिहरुकै लगानीमा कोल्ड स्टोर निर्माण प्रकृया अगाडी बढाईएको थियो ।


तर रकम अपुग भएको भन्दै ठेकेदार कम्पनिले काम अलपत्र छोड्दा हालसम्म पनि उक्त कोल्ड स्टोर सञ्चालनमा आउन सकेको छैन । २०७५ पुषतिर कोल्ड स्टोर निर्माणका लागि १ करोड ५ लाखमा सम्झौता गरिएको थियो । सम्झौताको ६ महिना भित्रै नै बाहिरी संरचना निर्माण भएको भएपनि आवश्यक उपकरण जडानको जिम्मेवारी पाएको ठेकेदार कम्पनिले काम नगर्दा कोल्ड स्टोर अलपत्र परेको हो । ठेकेदार कम्पनिले काम नगरेको अवस्थामा सरकार भने मौन बसिदिएको छ ।
करोडौ लगानी लगाईसकिएको कोल्ड स्टोर निर्माण भए किसानहरुले सहज रुपमा कृषि जन्य वस्तुहरु स्टोर गरेर राख्न सक्ने अवस्था हुने थियो । किसानहरुको सहजताका लागि नै कोल्ड स्टोर निर्माणको प्रकृया थालिएको थियो । तर भौतिक संरचना निर्माण भएको ६ वर्षसम्म पनि उपकरणहरु जडान नभएपछि किसानहरु मर्कामा परेका छन ।
अत्तरियामा साढे ३ सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण गर्न थालिएको हो । कृषि उपज थोक बजार केन्द्रमा हाल भारत लगायत सुदूरपश्चिमका ९ वटै जिल्लाबाट तरकारी आउँने र केन्द्रबाट स्थानीय बजार संगै काठमाण्डौ लगायत मौसम अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तरकारी पठाईने गरिएको छ । प्रदेशकै केन्द्रमा रहेको यो बजारमा कोल्ड स्टोर नहुँदा तरकारी तथा फलफुल बिग्रने गरेका कारण किसान तथा व्यवसायी ठूलो आर्थिक नोक्सानी बेहोर्दै आएका छन । ठेकेदार कम्पनिको लापरबाहीको भागेदार कृषकहरुले बन्नुपरिरहेको अवस्थामा सरकार भने मौन छ । कृषि प्रधान देश नेपालमा कृषिजन्य वस्तुहरु नै बाहिरी देशबाट आयात गर्नुपर्ने अवस्था छ ।
त्यसको अन्त्यका लागि स्वदेशमा उत्पादन हुने कृषिजन्य वस्तुहरुको सुरक्षित स्टोर अनिवार्य छ । त्यसैले अत्तरिया क्षेत्रमा निर्माण गरिएको कोल्ड स्टोरलाई यथाशिघ्र सञ्चालनमा ल्याउने विषयमा सरकार तदारुक बन्न जरुरी छ । उपकरण जडानको जिम्मेवारी पाएको ठेकेदार कम्पनिलाई झकझक्याउने या त्यसलाई कारबाहीको प्रकृयामा ल्याई काम गराउने भन्ने विषयमा सरकारले उदासिन भैदिदा किसानहरुले समस्या झेल्नुपरिरहेको छ । त्यसको समाधानका लागि जतिसक्दो जाडो पहलकदमी थालिनुपर्दछ ।















