खाेज्नुहाेस

सूचना कार्यान्वयनमा जोड देउ

Image

कैलालीको गोदावरी नगरपालिकालाई एक पछि अर्को सूचना निकाल्ने तर, कार्यान्वयन नगर्ने आरोप लाग्दै आएको छ । चाहे त्यो खोला नालाको अतिक्रमण हटाउने सूचना हुन या नदीजन्य पदार्थको अवैध कारोबार रोक्ने या विद्यालयमा निशुल्क शिक्षा दिने सूचना । नगरपालिकाले समय समयमा क्षणिक लोकप्रियताका लागि बिभिन्न प्रकारका काम गर्ने सूचना प्रकाशन गर्दै आएको छ । तर, ति सूचना लामो समय बितिसक्दा पनि कार्यान्वयन भने हुदैनन् ।

पछिल्लो समय गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको व्यवस्थापनका लागि एक पछि अर्को गरि तिन वटा सूचना जारी ग¥यो । जसबाट बर्षौदेखि हुँदै आएको अवैध नदीजन्य पदार्थको उत्खनन्, ढूवानी रोकिने अपेक्षा थियो । तर, त्यसको ठिक उल्टो सूचनाको खुल्लम खुल्ला उपेक्षा गरिदा पनि कारवाही नै नगरी नगरपालिका मौन बसेको छ ।

attariya hospital
navjiwan hospital

नगरपालिकाले जेठ ३२ गते सूचना जारी गरेर असाढ १ गते देखि भाद्र मसान्त सम्मको लागि नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा रोक लगाएको थियो । स्टक प्रमाणित गरेर कारोबार गर्न पाइने भएपनि त्यसका लागि आफ्नो निजी वा भाडामा लिएको जग्गामा मात्रै स्टक गरेको नदीजन्य पदार्थ प्रमाणित गरिने असार ३ गतेको सूचनामा उल्लेख थियो । सो सूचनामा सडकका दाँया बाँया, खोला किनार र सामुदायिक वन क्षेत्रमा राखेको स्टक नदीजन्य पदार्थ भने स्कट प्रमाणित नहुने उल्लेख थियो ।

उक्त सूचनाहरु सूचनामै सिमित रहदा हाल सूचनामा तोकिएको मापदण्डको धज्जी उडाउँदै खुलेआम राजमार्ग किनारामै नदीजन्य पदार्थ बालुवा, ढुङ्गा, ग्राभेलको स्टक गरेर कारोबार भइरहेको छ । गोदावरी नगरपालिका – ३ चौकिडाँडामा पुर्व पश्चिम राजमार्गको किनारामा राखिएको नदीजन्य पदार्थ खुलेआम अवैध रुपमा स्टक गरेर ढूवानी हुँदा पनि नगरपालिका भने मौन बसेको छ ।

त्यसअघि नगरपालिकाले फागुनमा सूचना जारी गरेर नदीजन्य पदार्थ नियम मिचेर उत्खनन् वा ढुवानी गरे ५० हजार देखि एक लाख सम्म जरिवाना हुने जनाइसकेको थियो । नगरपालिका सूचनामै सिमित हुने चाल पाएरै अवैध कारोवार गर्नेहरु खुलेआम यस्ता काम गर्न थालेका हुन ।

नगरपालिकाले खोलानाला अतिक्रमण हटाउने र नगरमा मावि शिक्षा निःशुल्क गर्न दिएका निर्देशन पनि हाल कार्यान्वयनमा नआइ सूचनामै सिमित छन । त्यसैले केही क्षणको चर्चा र लोकप्रियताका लागि सूचना मात्रै ननिकालेर कार्यान्वयन गर्न सक्ने सूचना मात्रै जारी गर्न आवश्यक छ । सूचना निकालिहाले तिनलाई कार्यान्वयनमा ल्याउन पनि नगरपालिकाले जोड दिन जरुरी छ ।