बीपी र पुष्पलालको पदमार्ग विर्सिएका कांग्रेस एमाले

साउन महिनाको आगमन भएसँगै विशेषगरी नेपाली राजनीतिका दुई ठूला धरोहरहरुको विशेषरुपमा चर्चा–परिचर्चा हुने गर्दछ । विधिवतरुपमा साउन ६ गते नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको स्मृति दिवस र साउन ७ गतेका दिनमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठलाई विशेषरुपमा स्मरण गर्ने गरिन्छ । बीपि स्मृतिका अवसरमा नेपाली कांग्रेस फलफुल वितरण तथा वृक्षारोपण गर्ने कार्यहरु नेपाली कांग्रेसले गरेको छ भने पुष्पलाल स्मृतिमा पनि एमालले त्यस्तै सामाजिक कार्यहरु गर्ने गरेको छ ।

maya metro hospital

देशमा राजनीतिक परिवर्तनका निम्ति जीवनको अन्तिम घडीसम्म नै लडिरहेका बीपी कोइरालालाई प्रजातन्त्र र समाजवादका प्रणेताका रुपमा लिइन्छ । देशमा प्रजातन्त्र स्थापनाका लागि जीवनपर्यन्त लागिरहने बीपीले राजनीतिमा गरेको समर्पण र त्याग आज पनि धेरैका लागि प्रेरणाको रुपमा रहिरहेको छ । नेपाली राजनीतिकै शीर्ष व्यक्तित्वका रुपमा लिइने बीपीलाई राणा शासन विरूद्ध लड्न गठन गरिएको नेपाली कांग्रेसको स्थापनादेखि देशको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुसम्मको गौरव प्राप्त छ । प्रजातन्त्र संस्थागत गर्न पटकपटक जेल जीवन समेत भोग्न बाध्य रहेका उनको मेलमिलापको नीतिलाई नेपाली राजनीतिमा एउटा कोशेढुङ्गाको रुपमा समेत लिने गरिएको छ ।

joshi vada pasal 2

त्यसरी नै नेपाली राजनीतिलाई नयाँ मोड दिन सक्ने राजनेताका रुपमा पुष्पलाललाई पनि लिइन्छ । विसं २००६ सालमा नै देशमा कम्युनिस्ट पार्टीको स्थापना गरेका संस्थापक पुष्पलाल क्रान्तिकारी सँगै परिवर्तनकारी शक्ति थिए, जुन तत्कालीन समाजका लागि ठूलो प्रहारसमेत थियो । समाज रुपान्तरणको सन्दर्भमा पुष्पलाललाई मार्गनिर्देशक नै मानिने गरिएको छ ।

नेपाली राजनितिका दुई मुख्य पार्टीहरुले संस्थापकको स्मृति दिवसका रुपमा विभिन्न कार्यक्रमहरु गरिरहदा उनिहरुको पदमार्ग भने विर्सिदै गएका छन । अहिले बीपीको परिकल्पना अनुसार न नेपाली कांग्रेस अघि बढ्न सकेको छ न पुष्पलालको सोचलाई नै मूर्तरुप दिन कम्युनिस्ट पार्टी हाँक्नेहरुमा सद्बुद्धि पलाएको छ । अहिले दलका नेताहरुले दुवै महान् नेताहरुलाई भजाएर आआफ्नो डम्फु बजाउन मात्रै उद्यत बनेका छन ।

नेपाली राजनीतिमा अहिले चरम अवसरवादको बोलबाला छ । जे–जसरी गरेर भए पनि चाँडै नै लाभको पदमा पुग्दै धन–सम्पत्ति थुपार्ने लालसाले तीव्ररुपमा काम गरिरहेको देखिन्छ । आफ्ना अग्रज नेताहरुप्रति देखिनुपर्ने भक्तिभाव आजभोलि सत्ता र शक्तिको सञ्चयका लागि खर्च भैरहेको छ । अब यो स्थिति परिवर्तनका लागिसमेत राजनीतिका आदर्श पुरूष बीपी र पुष्पलालले देखाएको बाटो हिँड्न अपरिहार्य भैसकेको छ । दलगत अस्तित्वका लागि समेत ती महान् नेताहरुको पथलाई अनुसरण गर्नुभन्दा अर्को विकल्प देखिँदैन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.