सुर्तीजन्य पदार्थमा नियन्त्रण गर

नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो छ । पछिल्लो समय युवायुवतीहरुले सुर्तीजन्य पदार्थको प्रयागलाई तिब्रता दिदाँ यसले भयावह रुप लिने देखिएको छ । मुलुकभर झन्डै ४८ लाख व्यक्ति सुर्तीजन्य पदार्थ एवं धूमपान उपभोग गर्छन् । त्यसमध्ये कतिपय नयाँ अनुभव एवं साथीभाइको लहैलहैमा लागेर पनि धूमपानप्रति आकर्षित भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक वर्ष विश्वमा ८० लाख मानिसको अकालमा मृत्यु हुने गर्छ । यो संख्या आगामी वर्षहरूमा यसको सेवनमा कमी नगरे अझ बढ्ने खतरा छ ।

maya metro hospital

सुर्तीजन्य पदार्थको सेवनकै कारण नेपालमा बर्सेनि ३७ हजारभन्दा बढीको ज्यान जाने गरेको पाइएको छ । सरकारी एवं गैरसरकारी पक्षबाट सुर्तीजन्य पदार्थविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका छन् । तर सुर्तीजन्य पदार्थको प्रयोगमा ति सचेतनामुलक कार्यक्रमहरु पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेका छैनन । सुर्तीजन्य पदार्थको सेवनले धेरै थरीका क्यान्सर रोगहरू निम्त्याउँछ । चुरोट एवं सुर्ती सेवनकै कारण जिब्रो, फोक्सो, मुख, घाँटी आदिको क्यान्सरका बिरामी बढिरहेका छन् । यसबाहेक मुटु, मस्तिष्कलगायतका अंंगमा पनि क्षति पुग्छ ।

joshi vada pasal 2

सुर्तीजन्य पदार्थको उपभोगमा कमी ल्याउन सबैभन्दा पहिले कर वृद्धि गरिनुपर्छ । त्यस्तै यस सम्बन्धमा बनाइएका कानुनहरूको व्यवहारमा सफल कार्यान्वयन गर्नुपर्छ । युवालाई चुरोट एवं सुर्तीजन्य पदार्थको सेवनमा निरुत्साहित गर्नुपर्छ । यसका लागि सरकारी, गैरसरकारी निकायका साथै नागरिक समाज सञ्चारमाध्यमको ठूलो भूमिका हुन्छ । आपसी समन्वय र सहकार्य गरी अनुगमन गर्नुपर्ने आवश्यक छ ।

सुर्तीजन्य पदार्थको स्टिक्स, क्यान्डी, हुक्काजस्ता आकर्षक देखिने र सजिलैसँग बोक्न तथा लुकाउन मिल्ने आकारमा बनाउने गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीले विभिन्न तरिका अपनाएर युवालाई आकर्षित गर्न खोजेका छन् । विभिन्न स्वाद (फ्लेभर्स) मा उपलब्ध गराउन थालेका छन् । चेरी, स्ट्रबेरी, चकलेटलगायतका विभिन्न स्वादमा सुर्तीजन्य पदार्थ बिक्रीको सुरुआत गरिसकेका छन् ।

अहिलेसम्मको खोज तथा अनुसन्धानका अनुसार धेरैजसोले किशोरावस्था (टिनएज) बाट नै चुरोट तथा सुर्ती सेवन सुरु गरेको पाइएको छ । जति सानो उमेरमा सुर्तीजन्य पदार्थको सेवन ग-यो, त्यति नै यसको गहिरो लत बस्ने सम्भावना रहन्छ ।

त्यसैले सुर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन यसबाट हुने स्वास्थ्यसम्बन्धी हानिकारक र सम्भावित रोगका बारेमा व्यापक रूपमा सचेतना प्रवाह गर्नुपर्छ । सुर्तीजन्य पदार्थको सेवनबाट पर्ने असरबारे सुसूचित गराउँदै सुर्तीजन्य पदार्थ नियन्त्रण (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को कार्यान्वयनमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.