खाेज्नुहाेस

कृष्णपुर नगरपालिकाद्धारा ८९ करोडको बजेट प्रस्ताव

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८९ करोडको बजेट प्रस्ताव गरेको छ । आईतबार सम्पन्न नगरको १३औ नगरसभामा उपप्रमुख द्रोपती रानाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ८९ करोड ६७ लाखको बजेट प्रस्ताव गरेकी हुन ।

उपप्रमुख रानाद्धारा प्रस्तावित बजेटका लागि आन्तरिक श्रोततर्फ ६ करोड करोड ४८ लाख, वित्तीय समानिकरण संघीयतर्फ १४ करोड ९६ लाख, वित्तीय समानिकरण प्रदेश तर्फ १ करोड ३५ लाख १६ हजार प्राप्त हुने अपेक्षा गरिएको छ । यसैगरी राजस्व बाडफाड संघीय तर्फ १४ करोड २६ लाख ६ हजार, राजस्व बाडफाड प्रदेश तर्फ ३९ लाख ७८ हजार, सामाजिक सुरक्षा तर्फ २५ करोड र सशर्त अनुदान संघीय सरकार तर्फ २७ करोड २२ लाखको बजेट आधार तयार गरिएको छ ।

attariya hospital

नगरले प्रस्ताव गरेको नीति तथा बजेट निर्माणका क्रममा नेपालको संविधानमा व्यवस्था भएका नीति, मार्गदर्शक सिद्धान्त एवम् मौलिक हक, नेपाल सरकार र प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट वक्तव्य तथा नगरपालिकाले विगतमा तय गरेका आवधिक र दिर्घकालिन नीतिहरुलाई ध्यानमा राखिएको बताईएको छ ।

“शिक्षा, स्वाथ्य, कृषि, पर्यटन र उद्योग : आत्मनिर्भर कृष्णपुरमा श्रोतको सदुपयोग” भन्ने लक्ष्यका साथ नगरले नीति तथा बजेट निर्माण गरिएको उपप्रमुख रानाले बताईन । नगरले आर्थिक विकास, सामाजिक विकास, भौगोलिक तथा पुर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन, आर्थिक व्यवस्थापन तथा राजश्व परिचालन, कानुन, मामिला तथा न्यायिक निरुपण, भुमि व्यवस्थापन, उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन र विविध गरी १० शिर्षकमा बजेट विनियोजन गरेको छ ।

संसद शैलीमा नगरसभा

सुदूरपश्चिमका सबै पालिकाहरुले नगरसभालाई सामान्य रुपमा सञ्चालन गर्ने गरेका छन । यहाँका पालिकाहरुले नगरसभामा उद्घाटन सत्र र बन्द सत्र गर्ने गरेका छन । उद्घाटन सत्रमा नगरसभाको उद्घाटन गर्ने तथा अतिथिहरुलाई शुभकामना मन्तव्य दिन लगाउने चलन रहेको छ । त्यसपश्चात उपप्रमुख वा उपाध्यक्षले नीति तथा बजेट प्रस्तुत गर्ने र उक्त नीति तथा बजेटमाथी बन्दसत्रमा छलफल गर्ने गरिन्छ । तर कृष्णपुर नगरपालिकाले भने संसद शैलीमा नगर सभा सञ्चालन गरेको छ ।

नगरसभाको उद्घाटन नगरी नगरप्रमुख हेमराज ओझाको उपस्थीतिसँगै राष्ट्रिय गानबाट सभा सुरु भएको थियो । त्यसपश्चात नगरप्रमुख ओझाले उपप्रमुख द्रोपती रानालाई नीति तथा बजेट प्रस्तुत गर्ने समय दिनुभएको थियो । नीति तथा बजेट सार्वजनिक भैसकेपश्चात नगरप्रमुख ओझाले विभिन्न समितिहरुलाई वार्षिक कार्यक्रम र उद्देश्यका बारेमा जानकारी दिन निर्देशन दिनुभएको थियो । त्यसपश्चात उक्त विषयहरुका बारेमा चित्त नबुझेका नगरसभा सदस्यहरुलाई बोल्नको लागि समय दिईएको थियो । यसरी नै नगरले संसद शैलीमा नगर सभा आयोजना गरेको थियो ।

पहिलो प्राथमिकतामा कृषि

नगरले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माण गरेको छ । व्यवसायीक रुपमा पशुपालन र तरकारी खेती मार्फत गरिबी निवारण गर्ने लक्ष्यका साथ कृषिलाई पहिलो प्राथमिकतामा राखिएको बताईएको छ । त्यसका साथै कृषिमार्फत युवाहरुलाई स्वरोजगार बनाईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

navjiwan hospital

महिलाहरुलाई आत्मनिर्भर बनाउन महिला सहकारी स्थापनामा जोड दिईने, सामुहिक कृषि खेतीलाई प्रोत्साहन गरिने, नगरका वडा नं. १, २, ३ र वडा नं. ७, ८, ९ मा सबै जनतालाई पायक पर्ने गरी दुई स्थानमा प्राविधिकको सहित व्यवस्था रहने गरी कृषि सेवा स्थापना गरिने उपप्रमुख रानाले बताईन । कृषकहरुको बजारीकरणका लागि नगरबाहिर पनि स्टलको व्यवस्थापन गरिने, कृषि मेला प्रर्दशनी कार्यक्रम आयोजना गरिने, किसानहरुलाई वर्गिकरण गरिने, नगरका सबै वडाहरुमा सिँचाईका लागि डिप तथा स्यालो ट्युबेल निमार्ण गरिने नीतिमा उल्लेख उनले बताईन । माछा पालन गर्ने र बगर खेती गर्ने किसानलाई प्रोत्साहित गरिने, कृषिमा आधारित उद्योगहरुलाई कर छुट गर्ने नीति अवलम्बन गरिने तथा कृषिजन्य पदार्थको रोग निदानका लागि प्रयोगशाला स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पुर्ण सरसफाइ युक्त नगर बनाईने

नगरपालिकाको नीति तथा कार्यक्रममा नगरलाई पुर्ण सरसफाईयुक्त नगर घोषणा गरिने उल्लेख गरिएको छ । त्यसका लागि टोलस्तरिय सरसफाई प्रभावकारी बनाई नगर तथा वडास्तरमा अनुगमन गरिने बताईएको छ । नगरको बजारक्षेत्रमा ढल निकासको व्यवस्थापन योजना प्रभावकारी रुपमा लागु गरिने समेत नीतिमा उल्लेख गरिएको छ ।

यसैगरी नगरले एकिकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने जनाईएको छ । नगरले शुक्लाफाँटा नगरपालिका र गोदावरी नगरपालिकासँग साझेदारी गरी फोहोरमैला व्यवस्थापनको पहल गर्ने जनाएको छ । नगरका मुख्य बजार क्षेत्र र वडाका मुख्य चोकहरुमा सार्वजनिक शौचालय निर्माण र शुद्ध खानेपानिको व्यवस्था गरि सर्वसुलभ ढंगले सञ्चालन गरिने बताईएको छ ।

शिक्षामा प्रभावकारी योजना

नगरले शिक्षाक्षेत्रमा आफ्ना प्रभावकारी योजनाहरु अघि सारेको छ । मेयर गैर छात्रवृत्ति कार्यक्रम सञ्चालन गरी आर्थिक अभावले पढ्न नपाएका बालबालिकाहरुलाई शिक्षा दिईने योजनाका साथै बालविकास केन्द्रमा आर्कषित गर्नका लागि नयाँ योजनाहरु लागु गरिने बताईएको छ ।

त्यसैगरी शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि नियमित अनुगमन र नियमनलाई प्रभावकारी बनाईने, समयानुकुल स्थानिय तहको पाठ्यक्रम परिमार्जन गरिने, विद्यार्थिको संख्याको आधारमा भौतिक संरचनाको सुधारमा ध्यान दिईने, विद्यार्र्थीहरुको नियमित स्वास्थ्य जाँच गरिने, सार्वजनिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने कुरामा जोड दिइने, हरित विद्यालय योजना सञ्चालन गरिने, नगरस्तरिय शैक्षिक मेला सञ्चालन गरिने लगायतका योजनाहरु नगरले लिएको छ ।

पुराना योजनालाई निरन्तरता

नगरले प्रायजसो चालु आर्थिक वर्षकै योजनाहरुलाई निरन्तरता दिएको छ । स्वास्थ्य क्षेत्रतर्फ विशेषज्ञ सहितको कृष्णपुर स्वास्थ्य चौकी रहेको क्षेत्रमा सुविधासम्पन्न नगर अस्पताल बनाईने, नगरका ९ वडामा ३ वटा एम्बुलेन्स प्रदान गरिने तथा सव वाहनको व्यवस्था गरिने बाहेकका पुराना योजनाहरुलाई निरन्तरता दिईएको छ । यस्तै भलमन्सा घर निर्माण गर्ने, नगरका ७, ८ र ९ वडामा होमस्टे बनाउने कार्यको सुरुवात गरिने लगायतका योजनाहरु थप गरिएको छ ।

त्यसका साथै पुर्वाधार गुरुयोजना सहित कृष्णपुर चक्रपथ निर्माणका लागि डिपिआर गर्ने कार्य अगाडी बढाईने, सुरक्षित नागरिक आवास कार्यक्रमलाई प्राथमिकता दिईने, अध्यारो मुक्त नगर घोषणा गरिने लगायतका योजनाहरु पनि नगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ ।