धनगढी – कैलालीका अचार उद्यमी महिलालाई सिमिट इन्टरनेशनलद्वारा सञ्चालित सिसा परियोजनाले उपकरण हस्तान्तरण गरेको छ । चुरे गाउँपालिका– ५ खानीडाँडा र गोदावरी नगरपालिका– ४ बुढीतोलाका अचार उद्यमीलाई शुक्रबार उपकरण हस्तान्तरण गरिएको हो ।
लामो समयदेखि परम्परागत शैलीमा अचार बनाइरहेका यहाँका उद्यमीहरूलाई मसला पिस्ने र अचार प्याक गर्ने मेसिन हस्तान्तरण गरिएको छ । उनीहरुले यसअघि हातले मसला बनाएर अचार तयार गर्ने गरेका थिए ।


उपकरणको माध्यमबाट मसला पिस्न मिल्ने भएपछि उनीहरु उत्साहित भएका छन् । ‘यसअघि एक दिन लगाएर बनाउने अचार मसला उपकरणबाट केही मिनेटमै तयार भयो’, महिला उद्यमी शान्ति सापकोटाले भनिन्, ‘अब हामी अझै व्यवसायलाई बढाउन सक्छौं ।’
यहाँका ७ जना उद्यमीलाई यसअघि दाङमा अचार बनाउने तालिमसमेत दिइएको थियो । परम्परागत शैलीमा भन्दा तालिम लिएर बनाउँदा निकै राम्रो भएको ममता लामिछानेको अनुभव छ ।
‘पहिले हामीले अन्दाजमै मसला हाल्ने गरेका थियौं । त्यसले लागत वृद्धि भएको रहेछ’, उनले भनिन्, ‘अहिले तालिम लिएपछि कुन मसला कति हाल्ने भन्ने जानकारी पायौं ।’
अहिले खानीडाँडा र बुढीतोलाबाट कैलाली, कञ्चनपुरलगायत नेपालका विभिन्न क्षेत्रमा अचार गइरहेको छ । यहाँको अचारलाई स्वादिष्ट मानिन्छ । उपकरण पाएपछि उनीहरुले उत्पादन थप बढाउने बताएका छन् ।
सिसा परियोजनाका क्षेत्रीय संयोजक लोकेन्द्र खड्का र कृषि प्राविधिक हरिप्रसाद आचार्यले उद्यमीहरुलाई उपकरण चलाउनसमेत सिकाएका थिए । अब महिला उद्यमी आफै उपकरण चलाएर अचार बनाउन सक्ने भएको क्षेत्रीय संयोजक खड्काले जानकारी दिए ।

















