खाेज्नुहाेस

महेन्द्रनगरस्थित शिवशिखर सहकारीले २० करोड ठगी गरेको खुलासा

Image
file photo

दोधारा चाँदनी  – महेन्द्रनगरस्थित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको २० करोड ७८ लाख बढी रकम ठगी गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बचत रकम फिर्ता नगरेको भन्दै दुई हजार ४९६ जना बचतकर्ताले प्रहरीमा निवदेन दिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बचतकर्ताहरूले २० करोड ७८ लाख २४ हजार रकम फिर्ता माग गर्दै निवेदन दिएका हुन् ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दले शिवशिखर सहकारी संस्थाबाट ठगिएका दुई हजार ४९६ जनाले निवेदन दिएको बताए। “अहिले हामी निवदेनकर्ताको संयुक्त जाहेरी बनाएर मुद्दा दर्ता गर्ने तयारीमा छौँ”, उनले भने, “अनुसन्धान गर्न सजिलो होस् भनेर संयुक्त जाहेरी तयार गर्न लागेका हौँ ।”

navjiwan hospital

गत महिना प्रहरीले उक्त सहकारीबाट बचत रकम फिर्ता नपाएकाहरूलाई बचतपास बुक र नागरिकतासहित प्रहरीमा निवेदन दिन आग्रह गरेको थियो । अहिले महेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्था बन्द छ । बचतकर्ताहरूले आफूहरूले जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने भन्दै निवेदन दिएको बताएका छन् ।

“हामीले मेहनतले कमाएको रकम हामीलाई फिर्ता गराइदिन भनेर प्रहरीमा निवेदन दिएका हौँ”, बचतकर्ता सुमन कुँवरले भने, “सहकारीका कर्मचारीले घरमै आएर आग्रह गर्दा बचत जम्मा गरेका हौँ ।” उनले उक्त सहकारीमा ३७ हजार रकम बचत रहेको बताए।

त्यसैगरी, वासुदेव भट्टले पनि ४१ हजार रकम उक्त सहकारीमा जम्मा रहेको बताए । “सहकारीको कार्यालयमा गएर बचत फिर्ता माग्दा दिएन, तीर/चार दिन कार्यालयमा धाएँ”, उनले भने, “मेरो किराना पसल छ, मैले दैनिक बचत गर्दै आएको थिएँ ।” बचतकर्ताहरूले बचत रकम फिर्ता र सहकारी सञ्चालकहरूलाई कारबाहीको माग गरेका छन् ।

भक्तपुर केन्द्रीय कार्यालय रहेको शिवशिखर बहुउद्देशीय सहकारी संस्थाले महेन्द्रनगरलगायत अन्य जिल्ला शाखाबाट समेत ठगी गरेको उजुरी प्रहरीमा छ ।

रासस