अत्तरिया – करिव ५ वर्ष अघि निर्वाचन भएको कैलालिको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघको साधारण सभा तथा नयाँ समिति चयनका लागि यहि जेठ २४ गते निर्वाचन मिति तोकिएको छ ।
२०७५ साल असोज १२ गते अशोकराज देवकोटा प्यानल सहित विजयी भएपश्चात संघको अधिवेशन हुन नसकेको अवस्थामा अहिले चुनावी साधारण सभाको मिति तोकिएको थियो । ५ वर्ष सम्म पनि साधारण सभा नगरेको भन्दै अत्तरियाकै व्यापारिले उजुरी हालेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशन पश्चात निर्वाचनको मिति तोकिएको हो ।
तर करिव ५ वर्ष पछि निर्वाचन मिति तोकिएको उक्त कार्यालयमा आइतबार तालाबन्दी गरिएको छ । उक्त संस्थाका वर्तमान वस्तुगत उपाध्यक्ष कमल कडायत नेतृत्वको व्यापारीहरुको समुहले कार्यालयमा तालाबन्दी गरेको हो । आफुलाई जानकारी नगराई पदाधिकारीहरुले नै बसेर यकिन गरेका सदस्यहरुको संख्या घटाईएको थाहा पाएपछि आफुहरुले तालाबन्दी गरेको कडायतले बताए ।
उनले संख्या एकिन नगरीकनै नयाँ सदस्यहरुको एकलौटी रुपमा टुंगो लगाईएको आरोप लगाए । ‘म आमाको उपचारका लागि बाहिर भएको बेला बैठक बसेको सम्म जानकारी गराईएको थियो, अन्य जानकारी दिईएन’ उनले भने ‘त्यो बैठकमा पहिला पदाधिकारीहरु नै बसेर छनोट गरिएका सदस्यहरुको समेत नाम समाबेश नगरी आफू नजिककाहरुको मात्रै नाम समाबेश गरेर सार्वजनिक गरिएको छ । अध्यक्षको यस्तो हर्कतका विरुद्ध हामीले तालाबन्दी गरेका हौ ।’ उनले व्यवसायीहरुले सदस्यताको लागी आवेदन दिएकाहरुलाई पनि सदस्यता नदिएर अधिवेशनबाट बन्चित गर्न खोजिँदा निर्वाचनको मुखैमा तालाबन्दी गर्नुपरेको बताए ।
‘नयाँ सदस्यताका हकमा सही सदस्यहरुको छनौट गरी कर्मचारीले बिल काटेको, फर्मको कार्ड बनाएको र संघको ढड्डामा पनि चढाईसकेको अवस्था छ’ उनले भने ‘तर म बाहिर भएको अवस्थामा बैठक बसिरहेको मात्रै जानकारी गराएर निर्णयहरुबारे जानकारी नै नगराई चोरी हिसाबमा अध्यक्षले सदस्य संख्या घटाउनुभएको छ, यो सरासर गलत हो ।’
उनले करिब १९ सय सदस्यहरुको सबै प्रकृया पुगेर पनि पैसाको किचलो झिकेर हाल सदस्य संख्या ८ सयमा झारेर बाँकी सदस्यहरुको मतदानको अधिकार खोस्न खोजिएको बताए । उनले आफू बाहिर भएको अवस्थामा रकम नदिएको भन्दै सदस्यहरुको नाम काटिएको बताए । तर सदस्यहरुले रकम तिरेको रसिद भने काटिएको उनको भनाइ रहेको छ ।
संघका पुर्व कोषाध्यक्ष गणेश महराले निर्वाचनको मुखमा सदस्यहरुलाइ हतोत्साहित गर्ने काम गरिएको बताए । उनले निर्वाचनमा पराजित हुने डरले बर्तमान कार्यसमितीका केही पदाधिकारी र उम्मेदवारका आकांक्षीहरुले वास्तविक ब्यापारीहरुलाइ छोडेर आफू निकटका व्यक्तिहरुको मात्रै नाम समावेश गरेको आरोप लगाए ।
तर यता संघका अध्यक्ष अशोकराज देवकोटाले बैठकको निर्णय अनुसार नै सदस्यहरुको नामावली जिल्ला प्रशासन कार्यालय कैलालीमा पठाईएको बताए । उनले दुवै समुहका पदाधिकारीहरुसहितको बैठकले गरेको निर्णय अनुसार नै कामकारबाही हालसम्म अघि बढेको बताए । ‘प्रशासनले अडिट रिपोर्ट, हालसम्मको प्रगती विवरण र सदस्यहरुको नामावली मागेपछि बैठक बसेको हो’ उनले भने ‘अध्यक्षका आकांक्षीका दुवै समुहहरुले आ–आफ्ना सदस्यका फाईलहरु कार्यालयमा त्यत्तिकै राखेका थिए, तर फर्म संख्या अनुसार नविकरण शुल्क नबुझाएका कारण ति सबैको नाम प्रशासनमा पठाउन सम्भव भएन ।’
उनले सोही कारण वैशाख २७ गते बसेको पदाधिकारीहरुको बैठकले बैशाख ३१ गते आईतबार कार्यालय समय भित्र फर्महरुको शुल्क बुझाईसक्नुपर्ने निर्णय गरेपछि सोही अनुसार कामकारबाही गरिएको बताए । ‘बैठकमा अध्यक्षका आकांक्षी तथा वर्तमान समितिका वस्तुगत उपाध्यक्ष कमल कडायत उपस्थित थिएनन्, तर बैठकको बारेमा उहाँलाई जानकारी गराईएको छ’ उनले भने ‘त्यसपश्चात भएका निर्णयहरुका बारेमा उनका समुहका पदाधिकारीहरुलाई समेत जानकारी छ, उहाँहरु बैठकमा उपस्थित हुनुभएको थियो ।’
उनले बैठकले तोकेको समयसम्म रकम बुझाएका सदस्यहरुको नामावली मात्रै प्रशासनमा गएको र उनिहरुलाई मात्रै आसन्न निर्वाचनमा मताधिकार हुने बताए । उनले बाँकी रहेका सदस्यहरुको आसन्न निर्वाचनमा मताधिकार नभएपनि रकम बुझाएको खण्डमा सदस्यता प्रदान गरिने बताए ।
एउटै प्यानल बाट निर्वाचित भएपनि संस्थामा दुई गुट बन्दा संघको कामकारबाहीमा समेत समस्या हुदै आएको छ । निर्वाचित समितिका पदाधिकारीहरुकै झगडाका कारण वर्षाै पछि तोकिएको समयमा पनि संघको निर्वाचन हुने कुरामा भने आशंका उत्पन्न हुन थालेको छ ।
उपाध्यक्षको प्रेश विज्ञप्ती
यसैबिच संस्थाका वस्तुगत उपाध्यक्ष कमल कडायतले तालाबन्दी गर्नुपरेको अवस्था बारेमा प्रेश विज्ञप्ती जारी गरेका छन । उनले विभिन्न कारणहरु देखाउदै तालाबन्दी गर्नुपरेको अवस्था बताएका हुन ।
उनले संस्थामा दर्ताका लागि आवश्यक प्रकृया पुरा गरिसकेका करिब ५० प्रतिशत भन्दा बढी व्यवसायीहरुलाई मताधिकारबाट बंचित गराउने गरी वर्तमान पदाधिकारीहरुलाई समेत जानकारी नगराई निर्वाचन प्रकृया अगाडी बढाएको, सदस्यता शूल्कसहितका अन्य आम्दानीहरु समेत संस्थाको खातामा दाखिला गरेको नदेखिएको, विगत ५ वर्षदेखी वार्षिक साधारण सभा नगरी सो मार्फत जानकारी गराउन पर्ने महत्वपुर्ण विषयहरु तथा आम्दानी खर्च लगायत जानकारी नगराएको लगायतका विषयहरुका कारण संस्थामा तालाबन्दी गर्नुपरेको विज्ञप्तीमा उल्लेख गरेका छन ।
त्यसका साथै उनले संस्थाभित्र देखिएका व्यापक विकृती र विसंगतीका विरुद्ध जति विरोध गर्दा पनि सुनुवाई नहुने देखिएपछि बाध्य भएर संस्थामा तालाबन्दी गर्नुपरेको विज्ञप्तीमा उल्लेख गरेका छन ।