अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ ले १ करोड १२ लाख ५८ हजार ७९९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बिहिबार वडाको सातौ वडा भेलामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै वडा अध्यक्ष हेम प्रकाश मल्लले उक्त बजेट वडालाई नगरबाट प्राप्त भएको सार्वजनिक गरेका हुन ।

जस अन्तरगत समानिकरण बजेट ८० लाख र सुत्रमा आधारित बजेट ३२ लाख ५८ हजार ७९९ प्राप्त भएको उनले बताए । उनले उक्त बजेटको सीमा भित्र रहेका वडाबाट नीति तथा कार्यक्रम तयार गरिएको बताए । उनले नीति तथा कार्यक्रम तयार गर्दा वडा अन्तरगत टोल भेलाबाट प्राप्त योजना प्रस्तावलाई प्राथमिकता दिएको बताए । वडा नम्बर ४ मा टोल भेलाबाट २५७ वडा योजना प्रस्ताव फाराम भरीएका थिए ।

वडाको नीति तथा कार्यक्रममा पूर्वाधार विकास तर्फ ६७ लाख ५५ हजार, सामाजिक विकास तर्फ १६ लाख ८९ हजार, आर्थिक विकास तर्फ ११ लाख २५ हजार, वातावरण तथा विपत व्यवस्थापन तर्फ ३ लाख, बाढी, पहिरो, वनजंगल डढेलो नियन्त्रण तथा विपत व्यवस्थापन सुशासन तथा संस्थागत विकास तर्फ १३ लाख ८९ हजार ७९९ रुपैयाँ विनियोजन गरिएको छ ।
नीति तथा कार्यक्रममा भौगोलिक अवस्थालाई मध्यनजर गर्दै चुरे पहाडी क्षेत्रमा पशुपंछी पालन, जडीबुटी संरक्षण तथा उत्पादन नगदे बाली उत्पादन बाखा पालन पकेट क्षेत्र घोषण गरि दिगो आयआर्जनको व्यवस्थापन गरिने जनाइएको छ ।

वडा अध्यक्ष मल्लले तराई क्षेत्रमा बढ्दो भूमीगत पानीको दोहनलाई कम गर्न भम्का खोला मुल पानीलाई ड्याम प्रबिधिबाट कृतिम पोखरी निर्माण गरि खैराना बास्कोटा बसन्तपुरका लगभग १५ सय हेक्टर उर्वर कृषि भूमीमा सिंचाईको पहुच पुगाउन सकिने बताए ।
उनले पशु तथा कृषि हाटबजार निर्माण गरि स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, दुग्ध संकलन तथा प्रशोदन केन्द्र निर्माण गर्ने, कृषि उत्पादनको गुणस्तर कायम राखि कृषकहरुको उत्पादनको उचित मुल्य प्राप्त गर्नका लागि कोल्ड स्टोर निर्माण गर्न नगरपालिका, प्रदेश र संघमा बजेट व्यवस्थापनका लागि आवश्यक समन्वय गर्ने बताए ।
उनले नगरपालिकाको भौगोलिक क्षेत्रफलको आधारमा वडाले ६० प्रतिशत क्षेत्रफल ओगटेको भएपनि बजेट न्यून पाएको गुनासो पोखे ।
उनले वडाको क्षेत्रफल अनुसार बजेट विनियोजन गरि नगरप्रमुखलाई आग्रह गरेका थिए । उनले भने ‘यती न्यून रकमबाट गोदावरी नगरपालिकाको कुल भू–भागको ६० प्रतिशत क्षेत्रफल ओगटेको पहाडी दुर्गम गाउँ टोल बस्तिका समुदायको समस्या सम्बोधन गर्न नसकिने यथार्थलाई नगर परिषदले स्विकार गरि बजेट वृद्धि गरिदिन अनुरोध गर्दछु ।’
हाल उक्त वडाको आफ्नै वडा भवन पनि नहुँदा भाडामा संचालन भइरहेको छ । वडा अध्यक्ष मल्लले हाल वडा कार्यालय भवन निर्माणको प्रक्रिया अगाडी बढिसकेको बताए । भवन निर्माणका लागि ८० लाख जिल्ला समन्वय समिती र ५४ लाख नगरपालिकाको संयुक्त लगानीमा ठेक्का प्रकिया अगाडी बढेको बताए ।
