अछाम – अछामको चौरपार्टी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँदमाथि बोतल प्रहार भएको छ । बैसाख २४ गतेको राति करिब साढे ८ बजे अचानक आक्रमण भएको अध्यक्ष साउदले बताएका छन् । साउँदले आक्रमण गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का जिल्ला सभापति खेम खड्का र नरबहादुर खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश विष्टले गाउँपालिकाका अध्यक्ष साउँदले गाडीमा रहेका बेला रोकेर, बोतलले हानेको भन्दै उजुरी दिएको बताए ।
साउँदले समन्वय समितिको प्रदेशका लागि योजना तर्जुमासम्बन्धी कार्यक्रमबाट फर्किरहेको बेला साफे नगरपालिका र चौरपाटी गाउँपालिकाको सिमानामा पुग्ने बित्तिकै आफुमाथी आक्रमण भएको बताएका छन ।
दुई युवाले आफूलाई नै कुट्न भनेर मोटरसाइकल सडक छेउमा रोकेर बाटो बन्द गरी बियरको बोतलले आक्रमण गरेको उनले बताए । गाडीमा आफूहरु ३ जना सवार रहेको भए पनि आफूलाई मात्र उनीहरुले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको उनको जिकिर छ । त्यहाँका स्थानीय व्यापारीको सहयोगमा आफूले ज्यान जोगाएको र आक्रमणकारीहरु भागेको उनले बताएका छन ।
साउँद २०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका थिए ।
उनीहरु बिचमा पुरानो रिसिबीका कारण झगडा भएको प्रहरीले बताएको छ । अध्यक्षको टाउँकोमा बोतल हानेको आरोप लागेका दुवैजना भने फरार रहेको र, उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।