अत्तरिया – कैलालीको अत्तरियामा आजदेखी पिएफए भेट्रान कप क्रिकेट प्रतियोगीता सुरु भएको छ । प्ले फर अत्तरिया (पिएफए) स्पोर्ट क्लवको आयोजनामा आजदेखी प्रतियोगीता सुरु भएको हो ।
प्रतियोगीताको एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगरप्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपाल दत्त भट्टले उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै भट्टले खेलकुद प्रतियोगीताले शारिरीक रुपमा स्वस्थ राख्नुका साथै समाजलाई चिनाउन पनि मद्दत गर्ने बताए । उनले खेलकुदकै माध्यमबाट कयौ राष्ट्रहरु विश्वमा चिनिन सफल भएको बताउदै उनले ति राष्ट्रहरु जस्तै नेपाललाई पनि खेलकुदले माथि उकास्ने कार्य गरिरहेको बताए ।

उनले विकासलाई सडक तथा भौतिक निर्माणको विस्तारका रुपमा मात्रै नहेरी खेलकुद लगायतका अन्य विभिन्न व्यक्तित्व विकास गर्ने कुराहरुका रुपमा पनि लिईनुपर्ने बताए । उनले खेलाडीहरुले गोदावरी नगरक्षेत्रको पहिचान र अस्तित्व माथि उकास्ने कार्य गर्ने आफुले विश्वास लिएको समेत बताए । त्यसका साथै उनले नगरका तर्फबाट खेलकुदका क्षेत्रमा गर्नुपर्ने क्रियाकलाप र सहयोगहरुमा आफु सदैव कटिबद्ध रहेको बताए ।


क्लबका अध्यक्ष गणेश भण्डारीको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नगरप्रवत्ता भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा दुर्गालक्ष्मी बहुुमुखी क्याम्पसका क्याम्पस प्रमुख डाक्टर डम्बर बहादुर पाल, जिल्ला खेलकुद समिति डोटीका अध्यक्ष प्रकाश शाही र सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेन्द्र बहादुर सिँह रहेका थिए । चौथो संस्करणको रुपमा आजबाट सुरु भएको प्रतियोगीता यही वैशाख ९ गतेसम्स सञ्चालन हुने आयोजकले जनाएको छ ।
यसैबिच आज भएको उद्घाटन खेलमा एभरेष्ट अनविटन वारियर विजयी भएको छ । पिएफए किङ्गस्लाई ९ विकेटले पराजित गर्दै एभरेष्टले विजयी सुरुवात गरेको हो । टस जितेर व्याटिङ रोजेको पिएफएले १० ओभरमा सबै विकेट गुमाउदै ५६ रन बनाएको थियो । पिएफएका तर्फबाट कुनै पनि खेलाडीले सन्तोषजनक रन बनाउन सकेका थिएनन् । ५७ रनको विजयी लक्ष्य सहित मैदान प्रवेश गरेको एभरेष्टले ६ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

एभरेष्टका खेलाडी दिपक पालले २७ रन बनाए भने सुरेश खड्काले २२ रन बनाए । खेलमा २७ रन सहित १ विकेट लिएका पाल म्यान अफ द म्याच चुनिए । प्रतियोगीता अन्र्तगत भोली दुई ओटा खेल हुने प्रतियोगीता संयोजक शिवराज भट्टराईले बताए । भोली गेटा ब्लास्टर्स र सुप नाईट राईडर्स बिच बिहान ८ बजे पहिलो खेल हुनेछ भने न्यू ग्वासी सहारा क्यापिटल्स र गुलरिया बुल्स बिच बेलुकी ४ बजे दोस्रो खेल हुनेछ ।
प्रतियोगीताको विजयी टिमले नगद ५० हजार तथा द्धितिय हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगीता संयोजक भट्टराईले जानकारी दिए । त्यसका साथै प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार प्रदान गरिनेछ भने उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट बलरलाई नगद ५/५ हजार प्रदान गरिने उनले बताए ।
३२ वर्षभन्दा माथी उमेर समुहका खेलाडीले मात्रै सहभाग्तिा जनाउन पाउने प्रतियोगितामा कैलाली कञ्चनपुरका ७ वटा टिमको सहभागीता रहेको छ । सहभागीता टिमहरुलाई दुई ग्रुपमा विभाजन गरिएको छ । पहिलो ग्रुपमा एभरेष्ट अनविटन वारियर, न्यू ग्वासी सहारा क्यापिटल्स, पिएफए किङ्गस् र गुलरिया बुल्स रहेका छन भने दोस्रो ग्रुपमा सुप नाईट राईडर, गेटा ब्लास्टर्स र कैनोडा टाईगर्स रहेका छन ।

















