खाेज्नुहाेस

कञ्चनपुरको दक्षिण क्षेत्रका स्थानियमा बाघको त्रास

Image
फाईल फोटो

महेन्द्रनगर – बाघले दिउँसै आक्रमण गर्न थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानियमा त्रास उत्पन्न भएको छ । बस्ती नजिकै बाघ देखिने र पटक पटक बाघले आक्रमण गर्ने गर्न थालेपछि स्थानियहरु त्रसित बनेका हुन । जिल्लाको दक्षिणी क्षेत्र नजिकका गाउँहरु नजिकै बाघको आवतजावत हुन थालेको छ । चैत १० मा भारतको दुधुवा नेशनल पार्कमा मेलापात गएकी पुनर्वास नगरपालिका–१० मदनटोलकी ३२ वर्षीया कलसा सार्कीको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

एक हप्तापछि चैत १७ गते बेलौरीसँग सीमा जोडिएको भारतीय गाउँमा पनि बाघको आक्रमणबाट महिलाको मृत्यु भएपछि सीमावर्ती गाउँहरुमा त्रासको माहोल छाएको छ । पुनर्वास र बेलौरी आसपासका क्षेत्रमा बाघको आक्रमणका घटना हुनु र त्यसयता गाउँबस्ती नजिकै बाघ देखिन थालेपछि दैनिकी नै बिथोलिन थालेको एक स्थानीयले बताएका छन । बाघको त्रासले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको स्थानियहरुले बताएका छन ।

attariya hospital
navjiwan hospital

स्थानियहरु खेतमा काम गर्न, राति बाहिर निस्कन र एक्लै हिडन डराउन थालेपछि बाघको अवस्था पत्ता लगाउन स्वचालित क्यामेरा जडान गर्न थालिएको छ । पुनर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुमगनका लागि तीन वटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सव–डिभिजन वन कार्यालय पचकडियाका प्रमुख सहायक वन अधिकृत दिनेश कुमार यादवले जानकारी दिए ।

बस्ती नजिकै बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएको उनले बताए । उनका अनुसार पुनर्वास नगरपालिका–११ को गंगा जमुना सामुदायिक वन क्षेत्र, धनगढी उपमहानगरपालिका–३ को सामुदायिक वन क्षेत्र र बेलौरी नगरपालिका–२ को थापाचोक नजिक स्वचालित क्यामेरा जडान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा बाघको निगरानी गर्नका लागि स्वचालित क्यामेरा जडान गरिएको सहायक वन अधिकृत यादवले बताए । अहिले पर्याप्त मात्रामा क्यामेरा नहुदा बाघ देखिएको क्षेत्रमा मात्रै तीन क्यामेरा जडान गरिएको छ । एक सातापछि ती क्षेत्रको अनुगमन पछि अन्यत्र ठाउँमा पनि बाघको निगरानीका लागि तिनै क्यामेरा सारिने उनले बताए । बेलौरी र पुनर्वासको सीमासँगै जोडिएको भारतको दुधुवा नेशनल पार्कबाट बाघ नेपालतर्फका बस्तीमा पस्ने गरेको छ ।