खाेज्नुहाेस

सवारी परीक्षण कार्यालय अत्तरियाद्धारा ३६ लाख राजस्व संकलन

Image

अत्तरिया – कैलालीको अत्तरियामा ७ महिना अगाडी स्थापना भएको अन्तर प्रदेश सवारी परीक्षण कार्यालयले करिब ३६ लाख राजस्व संकलन गरेको छ । भदौ महिनामा स्थापना भएको उक्त कार्यालयले फागुन मसान्त सम्ममा ३५ लाख ९९ हजार ३७२ राजश्व संकलन गरेको हो ।

कार्यालयका लेखा प्रमुख अक्कल बहादुर रावलले सवारी परिक्षण र बाटो इजाजत बाफत उक्त राजश्व संकलन गरिएको बताए । उनले ७ महिनाको अवधिमा कार्यालयबाट ४४० सवारी साधनलाई बाटो इजाजत र ६७७ सवारीको जाँच पास गरिएको बताए ।

attariya hospital
navjiwan hospital

उक्त कार्यालयबाट अन्तर प्रदेशमा संचालन हुने यात्रुवाहक र मालवाहक सवारी साधनको जाँचपास, बाटो इजाजतपत्र प्रदान, स्तर कायम, प्रदुषण परिक्षण लगायतका काम हुने गरेको कार्यालयका निमित्त प्रमुख धर्मराज जोशीले बताए ।

कार्यालयले रात्री सेवा, स्तरीय सेवा, डिलक्स तथा सुपर डिलक्स सेवामा संचालन हुने सार्वजनिक सवारी साधनको मापदण्ड अनुसार सवारी निरीक्षण पनि गर्ने गरेको छ । अन्तर प्रदेशमा संचालन हुने सार्वजनिक सवारी साधनले ६÷६ महिनामा जाँच पास र ४/४ महिनामा रुट परिवर्तन गर्नुपर्ने मापदण्ड गरेको छ । कार्यालयले सुदूरपश्चिमबाट अन्य प्रदेशमा संचालन हुने सवारी साधनलाई सेवा दिदैं आएको छ । कार्यालयले नयाँ जाँचपास तथा जाँचपास नविकरणका लागि ठूला सवारी साधनबाट ३ सय साना सवारी साधनबाट ३ सय, प्रदुशण परीक्षणका लागि ३५ रुपैयाँ शुल्क लिदै आएको छ ।

नेपाल सरकारले ७ वटै प्रदेशमा सवारी परीक्षण कार्यालय राख्ने नीति अनुरुप सुदूरपश्चिममा कार्यालय स्थापना गरिएको थियो । प्रदेश मातहतमा रहेका धनगढी, महेन्द्रनगर र डडेल्धुरामा रहेका यातायात कार्यालयले प्रदेश भित्रमै संचालन हुने यातायातका साधनको जाँच पास, रुट परमिट लगातका सेवा दिने गरेकोमा संघ मातहतको प्रदेश सवारी परीक्षण कार्यालयले अन्तर प्रदेशमा सेवा दिर्दै आएको छ ।

हाल उक्त कार्यालयमा १४ जनाको दरबन्दी रहेकोमा ८ जना कर्मचारीले सेवा दिइरहेका छन । जसमा ५ जना स्थायी र ३ जना करारका कर्मचारी रहेका छन । कार्यालय प्रमुख पनि १ महिना अगाडी सरुवा भएर गएपछि हाल उक्त कार्यालय निमिक्तको भरमा संचालनमा रहेको छ ।