कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ क्याम्पस टोलमा आगलागी हुँदा करिब एक लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय जगदिश बोहराले सञ्चालन गरेको काठ र जस्तापाताले बनेको एकतले कृषि तथा पशुपन्छी फर्ममा बुधबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ। फर्म परिसरमा किरा हटाउनका लागि बालिएको आगो अनियन्त्रित भई आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


आगलागीबाट फर्ममा रहेका काठ, जस्तापाता, भाँडावर्तनलगायतका सामग्री जलेर नष्ट भएका छन्। क्षतिको अनुमानित मूल्य एक लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति नभएको जनाइएको छ। स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















