अत्तरिया – कैलाली र बैतडीमा प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना किशोरसमेत रहेका छन्।
कैलालीको घोडाघोडी नगरपालिका–७ कृतिपुरस्थित सुखड–भजनी सडक खण्डबाट २ ग्राम ५८० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित तीन जनालाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१ का २९ वर्षीय खेमराज मल्ल, २९ वर्षीय बालाराम पोख्रेल र १६ वर्षीय एक किशोर रहेका छन्।


जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सुप्रप्र ०१–००८ प २८८८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा लागूऔषध फेला पारेको थियो। प्रहरीले लागूऔषधसहित मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
यस्तै, बैतडीको दशरथचन्द नगरपालिका–४ गोठलापानी बजारबाट १४० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित ३१ वर्षीय प्रविन भट्ट पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















