अत्तरिया – विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ६ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१३ एयरपोर्ट निवासी अम्पुरा पाण्डेयलाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले बुधबार उनकै घरबाट पक्राउ गरेको हो।


त्यसैगरी, जिल्ला अदालत बझाङको २०७८ मंसिर २६ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा १ वर्ष ८ महिना १७ दिन कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना तोकिएका बुङ्गल नगरपालिका–२ बझाङ घर भई हाल कैलालीको गोदावरी नगरपालिका–४ गौरीगडामा बस्दै आएका ६३ वर्षीय गगने धामीलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोस्ट श्रीपुर कैलालीबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो।
यस्तै, जिल्ला अदालत बाजुराको २०८२ जेठ ६ गतेको फैसलाले कुटपिट मुद्दामा २ महिना २ दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकिएका स्वामिकार्तिक खापर गाउँपालिका–३ निवासी ४० वर्षीय अनिल सिंहलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले बडिमालिका नगरपालिका–९ मार्तडी बजारबाट पक्राउ गरेको छ।
पक्राउ परेका तीनै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।

















