खाेज्नुहाेस

गोदावरीमा वनले डोजर चलाएर घर भत्काएकाहरु सँग छ नगरपालिकाको निस्सा

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ मा वन कार्यालयले डोजर चलाउँदा टेम्पो भीरमा फालिएको घटना अहिले चर्चामा छ । सो दिन (जेठ २९गते) डिभिजन वन कार्यालय कैलालीले भ्यागुतेपानी, बासपानी क्षेत्रमा करिब ३५ हेक्टर वनमा बनाइएका ४७ वटा घर टहरा भत्काएको थियो । भीमदत्त राजमार्ग आसपास वन अतिक्रमण गरी बनाइएका घर, टहरा र अन्य संरचना भत्काइएको वनले टेम्पो फालेको भिडियो भाइरल भए पछि अतिक्रमण हटाएको घटना ओझेलमा प-यो ।

तर, हाल टेम्पोको घटना सेलाए सँगै सो क्षेत्रमा वनले घर टहरा भत्किएकाहरूले पनि आफूहरूलाई बिचल्लीमा पारेको भन्दै विरोधका कार्यक्रम सुरु गरेका छन् । उनीहरूले स्थानीय सरकार (गोदावरी नगरपालिकाले) नाप जाँच गरेर लालपुर्जाका लागि निस्सा दिएका ठाउँका घर टहरा पनि भत्काएको भन्दै विरोधमा गरेका हुन ।

attariya hospital

तल्लो बासपानीका स्थानीय डम्बर बहादुर ऐरीले गोदावरी नगरपालिकाले निस्सा दिएर लालपुर्जा दिने भनेको जग्गामा वनले डोजर चलाए पछि आफू अचम्ममा परेको बताए । ‘मैले जग्गा किनेर यहाँ ७ वर्ष पहिले घर बनाएको हो’ उनले भने ‘नगरपालिको नापी गरेर निस्सा पनि दिएको छ ।’ उनीसँग हाल नगरपालिकाले दिएको ६ रोपनी जग्गाको निस्सा छ । जुन निस्सा उनले २०७८ चैत ११ गते पाएका थिए । ‘म जङ्गल फडानी गरेर बसेको होइन’ उनले भने ‘पहिला ५ लाखमा जग्गा किनेको हो । १२ लाख खर्च गरेर घर बनाएको हो ।’

navjiwan hospital

उनले नगरपालिकाले नापी गर्दा लालपुर्जा दिने आश्वासन दिएको बताए । ‘अस्ति पनि मेयर सापले भन्नुभएको थियो । जसले निस्सा पाएको छ । ६ महिना नभए एक वर्ष भित्र लालपुर्जा दिनेछौ’ उनले भने ‘आज एक महिना नबित्दै यस्तो घटना घट्यो ।’

नगरपालिका बाटै निस्सा पाएका बासपानीका गजेन्द्र बहादुर सिंहले पनि नगरपालिकाले लालपुर्जा दिने भनेको बताए । उनको निस्सामा नगरपालिकाबाट २०८२ साउन ६ गते नाप नक्सा भएको मिति पनि उल्लेख गरिएको छ । उनले एक सरकारले निस्सा दिने र अर्को सरकारले डोजर चलाउनु अनौठो कुरा भएको बताए । उनले नगरपालिकाले लाखौँ खर्च गरेर लालपुर्जा दिने भनेर नापी गरेका जग्गामा के आधारमा वनले डोजर चलायो भनेर प्रश्न गरे । उनले अहिले निस्सामा पनि त्रुटि भएको कुरा आएकाले यस्ता निस्सा दिनेलाई सबैभन्दा पहिला कारबाही हुनुपर्ने बताए ।

स्थानीयका अनुसार वनले डोजर चलाएको सो क्षेत्रमा डम्बर र गजेन्द्र मात्रै नभएर उनी जस्तै २ सय परिवारलाई निस्सा दिइएको छ । जसमा केही सो क्षेत्रमा बसोबास नगर्ने पनि रहेका छन् । उनीहरुलाई नगरपालिकाले लामो समय देखि भोग चलन गरेको आधारमा ऐलानी जग्गा भन्दै निस्सा दिएको स्थानीयको दावी छ ।

गोदावरी नगरपालिका – ४ का वडाध्यक्ष हेम प्रकाश मल्लले पनि निस्सा भएका घर पनि भत्काइएको बताए । उनले निस्सा दियो भन्दैमा पनि दाबी गर्न नपाइने बताउँदै नाप नक्सा गर्ने क्रममा वास्तविकता थाहा हुने बताए । उनले धेरैजसो निस्सा आफ्नो भन्दा अघिल्लो कार्यकालमै दिइएको बताउँदै आफू आएपछि केही मात्रै थपिएको हुन सक्ने बताए ।

स्थानीयले सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगबाट जारी सूचना अनुसार स्थानीय तह मार्फत निस्साका लागि फारम भरेको बताएका छन ।