अत्तरिया – ग्रेडरको किचेर मृत्यु भएकी १५ वर्षीया चेतना साउदको न्यायका लागि धनगढीमा भएको प्रर्दशनका क्रममा प्रहरीले पक्राउ गरेका सबैलाई छोडिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको क्षेत्रबाट पक्राउ गरेका २३ जनालाई छाडेको हो । कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले उनीहरुलाई भोलिदेखि आन्दोलन तथा प्रर्दशन नगर्ने शर्तमा छोडिएको बताए ।

बिहिबार बिहान चेतनाको मृत्यु भएपछि आन्दोलनमा उत्रिएका विद्यार्थीले शुक्रबार निषेधाज्ञाको अवज्ञा गर्दै दिनभरी धनगढी बजारमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनलाई निस्चेत पार्न प्रहरीले लाठी चार्च गर्नका सार्थ ३७ सेल अश्रुग्यास समेत प्रहार गरेको थियो ।

बिहिबार साँझ ग्रेडरका चालकविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि आफन्तले शव पनि बुझेका छन । ग्रेडरको ठक्करबाट ढलेकी चेनतालाई ग्रेडर चालकले व्याक गरेर किचेको आफन्तको आरोप छ ।
चालकमाथि सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरिएको र ४ दिन म्याद थप गरेर घटनाको अनुसन्धान अगाडि बढाउने सहमति गरिएको प्रहरीले जनाएको छ ।
यसैबिच जिल्ला प्रशासन कार्यालय कैलालीले बिहिबार साँझ देखि जारी गरेको अनिश्चित निषेधाज्ञा पनि शनिबार बिहान देखि हटाउने निर्णय गरेको जनाएको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी किरन थापाले एक आदेश जारी गर्दै शनिबार बिहान ४ बजे देखि धनगढीमा जारी भएको निषेधाज्ञा हट्ने उल्लेख गरेका छन ।
बिहिबार धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरतसाउदको मृत्य भएको थियो । धनगढी ५ तारानगरकी साउदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो । उनको मृत्युपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए ।


















