धनगढी – सुदूरपश्चिममा भाटभटेनीको २३ औं शाखा खुलेको छ । धनगढीको बोराडाँडी भन्ने स्थानमा शुक्रबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले एक कार्यक्रमका बीच भाटभटेनीको २३ औं शाखाको उद्घाटन गरेका हुन् ।

भाटभटेनीले सुदूरपश्चिममा बजार देखेर सुपरमार्केट खोलेको बताउँदै हमालले अरु क्षेत्रमा पनि प्रचुर सम्भावना भएकाले लगानी गर्न प्रदेश बाहिरका सबै लगानीकर्तालाई आह्वान गरे । ‘सुदूरपश्चिम सम्भावनाको क्षेत्र हो, यहाँ उद्योग कलकारखाना र व्यापारिक प्रतिष्ठान खोल्न म सबै लगानीकर्तालाई आह्वान गर्छु,’ मेयर हमालले भने ।

सुदूरपश्चिमका लागि भाटभटेनी सबैभन्दा ठूलो सपिङ कम्पलेक्स हो । भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले धनगढीमा आफ्नै जग्गामा भवन बनाएर २३ औं स्टोरका रुपमा यसलाई सञ्चालनमा ल्याएको बताए ।
उनले भवनमा ६ तल्ला रहेको बताए । करिब सवा २ अर्बको लगानीमा भाटभटेनीको नयाँ शाखा उद्घाटन गरिएको हो ।
सिनेमा हल, खाद्यान्न, लुगाकपडा सहित खेलकूदका सामग्री भाटभटेनीमा पाइनेछन् । भाटभटेनीले ३ सय जना स्थानीयलाई रोजगारी पनि दिएको छ ।
अध्यक्ष गुरुङले, भाटभटेनीको भवनको १ किलोमिटर परिधिका नागरिकलाई पहिलो प्रार्थमिकता, त्यसपछि २ किलोमिटर त्यसपछि एक÷एक किलोमिटरको परिधि गरेर रोजगारमा प्रार्थमिकता दिएको बताए ।
व्यापारको क्षेत्रमा सुदूरपश्चिम प्रदेशका व्यापारी बाहेकले लगानी गरेको ठूलो प्रोजेक्ट हो ।
अध्यक्ष गुरुङले सुदूरपश्चिममा लगानीका प्रचुर सम्भावना भएपनि लागानीकर्ता हिचकिचाइ रहेको बताए । ‘मैले सुदूरपश्चिमलाई व्यवसायका लागि भर्जिन ल्याण्ड मानेको छु, भाटभटेनी आएको स्थानमा अरु यद्योग धन्दा पनि आउँछन्,’ उनले भने ।
उनले अब सुदूरपश्चिममा पनि सम्भावना छ भन्दै लगानीकर्ताहरुले लगानी गर्ने बताए । २०४१ सालमा ३५ हजारको लगानीबाट सुरु भएको भाट भटेनीका देशैभरी २३ वटा शाखा विस्तार भइसकेका छन् ।