बाजुरा – बाजुराको बुढीगंगा नदीमा निर्माण हुने भनिएको मोटरेबल पुल ६ वर्षदेखि अलपत्र परेको छ । बुढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने ‘मौरे पुल’ निर्माण सम्झौता भएको ६ वर्ष पुग्न लाग्दा पनि निर्माण हुन नसकेको त्रिवेणी नगरपालिका स्थानीय कविराज गिरीले बताए । महाकाली पुल योजना महेन्द्रनगर कञ्चनपुरले २२ करोड ६ लाख ५२४ रुपैयाँ लागतमा निर्माणगर्ने भनिएको पुलको अहिले ठेक्का नै रद्द भइसकेको छ । कार्यालयले निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । विवाद सर्वोच्च अदालतसम्म पुगेपछि पुल निर्माण नै अन्योलमा परेको छ ।
महाकाली पुल योजनाले २०७८ असोज २९ गते बुढीगंगा नदीमाथि ११० मिटर लामो दुई स्पानको पीएससी बक्स गर्डर पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । २०७८ मंसिर १० गते काठमाडौंस्थित बिकोई बिल्डर्स प्रालिसँग निर्माण सम्झौता भएको थियो ।

कम्पनीले १६ करोड २१ लाख ७८ हजार ६० रुपैयाँमा ठेक्का लिएको महाकाली पुल योजनाका सूचना अधिकारी इन्जिनियर रवि शाहले बताएका छन् । सम्झौताअनुसार निर्माण कार्य २०८१ फागुन १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । तर निर्धारित समय सकिँदा पुल निर्माण सम्पन्न हुनु त परको कुरा, कामको सुरुवातसमेत नभएको त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापाले बताए ।

कम्पनीले डिजाइन स्वीकृत गराएर पेश्कीवापत एक करोड रुपैयाँभन्दा बढी रकम लगेको थियो । तर काम सुरुवातै भएको छैन ।
निर्माण कम्पनीले पेश्की रकम लिएर पनि काम अघि नबढाएपछि महाकाली पुल योजनाले जमानतवापतको उक्त रकम जफत गरिसकेको कार्यालयले जनाएको छ । निर्माण कार्यमा कुनै प्रगति नदेखिएपछि महाकाली पुल योजनाले २०८२ असार १९ गते ठेक्का सम्झौता रद्द गरेको हो ।
कार्यालयले २०८२ माघ ४ गते निर्माण कम्पनीलाई कालोसूचीमा राखेको थियो । महाकाली पुल योजनाले निर्माण सम्पन्न नहुनुको मुख्य कारण निर्माण व्यवसायीको ढिलासुस्ती रहेको निष्कर्ष निकालेको छ ।
अहिले पुलको मुद्दा विचाराधीन रहेकाले नयाँ ठेक्का प्रक्रिया अगाडि बढाउन नसकिएको महाकाली पुल योजनाले जनाएको छ । ‘अदालतबाट अन्तिम फैसला नआएसम्म नयाँ निर्माण प्रक्रिया सुरु गर्न नसकिने अवस्था रहेको छ । त्यसैले पुल निर्माण कार्य अन्योलमा परेको हो,’ सूचना अधिकारी इन्जिनियर रवि शाहले भने ।
बुढीगंगामा निर्माण हुने मौरे पुल केवल बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने भौतिक संरचना मात्र नभई, बडिमालिका क्षेत्रको प्रमुख प्रवेशद्वारका रूपमा रहेको महत्वपूर्ण पूर्वाधार हो । पुल निर्माण नहुँदा वर्षातको चार महिना त्रिवेणी नगरपालिका सडक सञ्जालबाट छुट्ने गरेको छ ।

















