खाेज्नुहाेस

कञ्चनपुरकी पत्रकार कुँवरको पत्रकार महासंघको सदस्य पद निलम्बन

Image

कञ्चनपुर – नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाले भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि दुव्र्यवहार तथा हातपात गरेको आरोप लागेकी पत्रकार ऐश्वर्या कुँवरलाई शाखा सदस्य पदबाट निलम्बन गरेको जनाएको छ ।

महासंघका सचिव कुण्दन पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार असार ७ गते दिउँसो कञ्चनपुरको होटल स्वीट ड्रिममा भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

attariya hospital
navjiwan hospital

विज्ञप्तिमा सार्वजनिक स्थानमा पत्रकारको मर्यादा र आचरण विपरीत कार्य गरेको भन्दै महासंघको विधान २०६० (पाँचौँ संशोधन, २०७५) को व्यवस्था अनुसार कुँवरसँग स्पष्टीकरण सोध्ने तथा शाखा सदस्य पदबाट निलम्बन गर्ने निर्णय गरिएको जनाइएको छ ।

महासंघले घटनाको छानबिन गरिरहेको बताउँदै प्राप्त भिडियो सामग्रीमा वडाध्यक्ष देवकोटाले पत्रकार कुँवरमाथि फिरौती मागेको तथा रकम असुली गरेको जस्ता गम्भीर आरोप लगाएको देखिएकाले ती आरोप पुष्टि हुने प्रमाण तथा आधार उपलब्ध गराउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

विज्ञप्तिमा पछिल्लो समय पत्रकार आचारसंहिता विपरीतका गतिविधि सार्वजनिक भइरहेकाले जिल्लाका सम्पूर्ण पत्रकारलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न समेत महासंघले आग्रह गरेको छ ।