अत्तरिया – नेपाली कांग्रेस गोदावरीले आफ्नो चुनाबी प्रचारलाइ तिब्रता दिएको छ । उम्मेदवारी फिर्ता लिने समय सम्म रोकिएको कांग्रेसको चुनाबी प्रचार आइतबारदेखि तिब्र रुपमा अघि बढेको हो ।
कांग्रेस गोदावरीका नगर सभापती वीर बहादुर चोखालले गठबन्धनको निर्णयका कारण केही दिन प्रचार प्रसारमा ढिलाइ भएको बताए । उनले आइतबार देखि भने नियमित रुपमा चुनाबी प्रचार प्रसारमा लागेको बताए ।

उनका अनुसार कांग्रेसले नगरका बिभिन्न वडाहरुमा प्रत्येक दिन जाने गरि तालिका बनाएको र त्यही अनुसार वडाका कार्यक्रमहरु संचालन भैरहेका छन ।
यसै गरि उनले आसन्न निर्वाचनमा कांग्रेस भारी बहुमतका साथ बिजयी हुने दावी गरे । ‘एमालेका पछिल्लो ५ वर्षका गतिविधिका कारण जनता वाक्क दिक्क भैसकेका छन’ उनले भने ‘पछिल्लो ५ वर्षमा एमालेले विकास बजेटको सट्टा कार्यकर्ता मुखी बजेट बिनियोजन गरेकाले जनतालाई कांग्रेसको आवस्यकता महशुस भएको छ ।’ उनले कांग्रेस भित्रको आन्तरिक किचलो पनि समाप्त भैसकेकाले निर्वाचनमा कांग्रेस सबै भन्दा अगाडि रहेको बताए । ‘गत स्थानीय तहको निर्वाचनमा कांग्रेस हार्नुको कारण पार्टी भित्रको आन्तरिक द्वन्द्व नै थियो, अब त्यो समाप्त भैसक्यो’ उनले भने ‘कांग्रेस जित्ने बलियो आधार नै पार्टि भित्रको एकता हो ।’

कांग्रेस गोदावरीका नगर प्रवक्ता अशोक राज देवकोटाले कांग्रेस जित्ने मुख्य आधार नगरवासिको एमालेप्रतिको बितिष्णा रहेको बताए । उनले चुनावी प्रचारका दुई दिनले नगरमा कांग्रेसको माहोल कस्तो छ भन्ने स्पष्ट पारेको र सोही कारण कांग्रेस बहुमतका साथ जित्ने दावी गरे । उनले गठबन्धनको विषयमा आन्तरिक व्यवस्थापन नहुँदा केही ढिलाई भएपनि आईतबार देखि चुनावी प्रचारको अभियानलाई तिब्रता दिईएको बताए । उनले चुनावी प्रचारका लागि कांग्रेसले जिम्मेवारी बाँडफाँडको कार्य पनि सम्पन्न गरीसकेको बताए ।
‘केही दिन ढिलाई भएपनि चुनावी प्रचार अभियान सुरु भैसकेको छ, विभिन्न समितिहरु गठन गरीसकेका छौ’ उनले भने ‘हिजो र आज दुई दिनको चुनावी अभियानले गठबन्धनको टिम भारी मतका साथ विजयी हुने देखिन्छ । चुनावी अभियानमा स्थानीयस्तरबाट पनि उल्लेख्य उपस्थिति हामीले भेटेका छौ ।’
कांग्रेस हार्नुको मुख्य कारण नै कांग्रेसभित्रको आपसी द्धन्द भएको बताउदै उनले आसन्न निर्वाचनमा त्यो द्धन्द समाप्त भैसकेको बताए । ‘गएको स्थानीय तहको निर्वाचनमा हामी आफ्नै पार्टीको आन्तरिक द्धन्दका कारण पराजित भएका हौ’ उनले भने ‘अत्तरियामा कांग्रेसलाई कांग्रेसबाहेक अरु कसैले हराउन सक्दैन, अहिले त्यो अवस्था छैन, पार्टी भित्रको आपसी द्धन्द समाप्त भैसकेको अवस्था छ, त्यसैले यसपटकको निर्वाचनमा कांग्रेस जित्ने पक्का नै छ ।’ उनले वडामा पनि कांग्रेसका बलिया प्रतिनिधिहरु निर्वाचनमा होमिएकाले जित निश्चित नै रहेको बताए ।
कांग्रेस गोदावरीमा चुनावलाई लक्षित गरी दिलिप कुमार साउँदको संयोजकत्वमा युवा परिचालन समिति, बिर बहादुर चोखालको संयोजकत्वमा प्रचार–प्रसार समिति, योगेश भट्टको संयोजकत्वमा आर्थीक संकलन समिति र अशोक राज देवकोटाको संयोजकत्वमा सूचना संचार÷यातायात÷सचिवालय समिति गठन गरिएको छ ।
त्यस्तै लक्ष्मी भण्डारीको संयोजकत्वमा महिला परिचालन समिति, धनीराम पनेरुको संयोजकत्वमा भोजन व्यवस्थापन समिति र जगत महराको संयोजकत्वमा विद्यार्थी परिचालन समिति गठन गरेको छ ।




















