खाेज्नुहाेस

कस्ता छन गोदावरीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारका एजेण्डा

Image

अत्तरिया – २०७९ सालको स्थानीय तहको चुनावमा २०७४ को तुलानामा स्वतन्त्रको उम्मेदवारी बढी परेको छ । स्थानीय तहमा स्वतन्त्र रुपमा चुनाव लड्नु पर्ने बहसका बिच यस पटक उम्मेदवारी पनि बढी परेको छ । तर, पछिल्लो समय राजनीतिप्रति मानिसहरुको वितृष्णा बढेका कारण पनि स्वतन्त्र उम्मेदवारी बढेको छ भने दलबाट रुष्ट भएकाहरुले पनि स्वतन्त्रबाट चुनाव लड्ने गरेकाले यो संख्या बढेको छ ।

यही पृष्ठभूमिमा गोदावरी नगरपालिका हाक्ने योजनाका साथ यस पटकको चुनावमा २ जना स्वतन्त्र उम्मेदवार बनेका छन । मेयरमा स्वतन्त्रबाट ४१ बर्षीय टेक बिक र २८ बर्षीय मिन मल्लले यस पटक आफूलाई चुनावी मैदानमा होम्याएका छन । जसमध्ये विक राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्ति हुन भने मल्ल गैर राजनीतिक पृष्ठभूमिबाट मेयरमा लड्दै छन ।

attariya hospital

भारतको पंजाव युनिभर्सिटीबाट साइन्समा स्नाकोत्तर गरेका मल्ल गोदावरीमा मेयरका उम्मेदवार मध्ये सबैभन्दा कान्छा हुन । युवा राजनीतिमा आउनु पर्ने अठोटका साथ मेयरमा दावी गरेका मल्लले गोदावरीको विकासका लागि आफूले उम्मेदवारी दिएको बताउन्छन ।

navjiwan hospital

मल्लले आफ्नो चुनावी प्रतिवद्धता पत्रमा प्रत्येक बर्ष १ सय विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा, डाक्टर, इन्जिनियर पठाउने, ५ सय कामदारलाई निशुल्क भिसा, हवाई टिकट उपलब्ध गराउने, अत्तरियामा उच्च माद्यमिक आवासीय स्कुल खोल्ने, एक हजारमा ३ लाखको बिमा गर्ने लगायतका योजना अघि सारेका छन ।

यस्तै बजारमा पार्किङ, शौचालय, खानेपानी, अत्तरिया बसपार्कलाई हाइटेक, रात्रीलाइट, ट्राफिक लाइट लगाउने, अत्तरिया– गोदावरी – चौमाला – भलारी सम्म विद्युतिय बस संचालन गर्ने, लामिताल लगायत नगरपालिका भित्रका पर्यटकीय क्षेत्रमा सुविधा सम्पन्न पार्क निर्माण गर्ने, डिजिटल माध्यमबाट टेण्डर प्रक्रिया, खरिद, बजेट र सबै प्रकारका कामहरु पारदर्शिता गर्ने लगायतका एजेण्डा अघि सारेका छन । मल्ललाई शनिबार निर्वाचन अधिकृतको कार्यालय गोदावरीले चुनाव चिन्ह ‘खानेपानीको धारो’ दिएको छ ।

यस्तै नेकपा एकीकृत समाजवादी गोदावरी नगरका अध्यक्ष समेत रहेका बिकले पार्टीबाटै चुनाव लड्ने प्रयास असफल भएपनि स्वतन्त्र उम्मेवारी दिएका छन । पार्टी भित्रबाटै मेयरमा आकांक्षा राखेका बिकले गोदावरीमा गठबन्धन भएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । गठबन्धन हुँदा मेयर कांग्रेसको भागमा परेको थियो । उनले आफूले कसैको विरुद्ध उम्मेदवारी दिएको नभएर यस क्षेत्रका गरिब, विपन्न, पछाडी पारिएका समुदायको हक हितको लागि उम्मेदवारी दिएको बताएका छन ।

‘सम्पन्न गोदावरी बासी, समृद्ध गोदावरी’ भन्ने नाराका साथ चुनावमा होमिएका बिकले आफ्नो चुनावी एजेण्डाका रुपमा नगरबासिलाई उत्पादन संग जोड्ने, एक वडा एक उत्पादनमा जोड दिने, कृषिलाई आधुनिकरण यान्त्रिकरण गर्ने, प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र स्थापना गर्ने, एउटा वडामा कम्तिमा पनि एउटा नमूना विद्यालय बनाउने र प्रत्येक घरमा शुद्ध खानेपानी पु¥याउने उनका योजना छन ।

उनले गरिब दलित विपन्न परिवारका विद्यार्थीका लागि छुटै छात्रवृति कोषको स्थापना गर्ने, प्रत्येक घर सबै साक्षरको अवधारणा अन्तरगत काम गर्ने, गोदावरीका बुढीतोला, बडीमछेली, नाइल, हाटाखोलीलाई धार्मीक, पर्यटकीय स्थलका रुपमा व्यवस्थापन गर्ने, छाडा पशु व्यवस्थापनका लागि योजना बनाई व्यवस्थित गर्ने, प्रत्येक वडालाई उत्पादन संग जोडेर स्वरोजगार बनाउने, स्वास्थ्य बिमालाई प्रभावकारी बनाउने, ऐलानी सुकुम्बासीहरुलाई लालपुर्जा वितरण गर्ने, गोदावरी भित्रका अति विपन्न र गरिबका घर निर्माण गर्ने लगायतका योजना अघि सारेका छन । विकलाई शनिबार निर्वाचन अधिकृतको कार्यालय गोदावरीले चुनाव चिन्ह ‘पुतली’ दिएको छ ।