खाेज्नुहाेस

गोदावरीमा दलहरुलाई वडा अध्यक्षकै उम्मेदवार टुङ्गो लगाउन सकस

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका वडाहरुमा मुख्य ठूला दलहरुले अझै वडा अध्यक्षका उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले आकांक्षीको विवरण लिन सुरु गरेका भएपनि अधिकांस वडामा एक भन्दा बढी उम्मेदवारले आकांक्षा देखाएका छन ।

दलहरुले सकेसम्म वडाबाट नै उम्मेदवारको टुङ्गो लगाउने प्रयास गरेपनि वडामा उम्मेदवारको टुङ्गो नलाग्दा वडाको जिम्मेवारी नगरलाई सुम्पेका छन । हाल नगरको नेतृत्व गरिरहेको नेकपा एमालेको गोदावरी नगर कमिटीले प्रत्येक वडाबाट उम्मेदवारको नामावली माग गरेको भएपनि ३ वडा बाहेक सबैमा एक भन्दा बढी आकांक्षी देखिएपछि उक्त नामावली जिल्लामा पठाएको छ ।

attariya hospital

एमाले गोदावरी नगर अध्यक्ष गोकर्ण भट्टले एक भन्दा बढी आकांक्षी देखिएका वडाको विवरणका बारेमा नगरमा छलफल नगरी सिधै जिल्लामा नामावली पठाइएको बताए । ‘वडा नम्बर ८, १० र ११ बाहेकका वडामा धेरै आकांक्षी देखिएपछि उनीहरुमध्ये अध्यक्षको उम्मेदवार टुङ्गो लगाउन सम्पूर्ण नामावली जिल्लामा पठाएका छौ ।

जिल्लाले १/२ दिनमा यसको टुङ्गो लगाउला’ उनले भने ‘जिल्लाले नै वडाको टिकट दिने व्यवस्था भएकाले हामीले सो विषयमा नगरमा छलफल नै नगरी जिल्ला पठायौ ।’ उनले नगरमा नाम रोकिनु हुन्न भन्ने कुरा आएपछि नगर स्तरमा छलफल नगरिएको बताए ।

सत्तारुढ गठबन्धन दलहरुले पनि अहिले एकल रुपमा वडाबाट उम्मेदवाको विवरण लिएका छन । नगरको चुनावमा गठबन्धन गर्ने नगर्ने बिषयमा फरक–फरक धारणा बाहिर आइरहेका बेला पार्टीगत रुपमा वडाका उम्मेदवार छनोटको काम भने अगाडी बढेको छ । कांग्रेसको नगर समितिले वडाको उम्मेदवार वडाबाटै चुन्ने प्रयास गरेको थियो । तर, सबैजसो वडामा सहमति नजुट्दा अहिले वडा अध्यक्षका आकांक्षीको विवरण नगरमा पठाइएको छ ।

navjiwan hospital

कांग्रेस गोदावरी नगर समितिका प्रवत्ता अशोक राज देवकोटाले धेरै जसो वडाबाट अध्यक्ष पदका लागि ८ देखि १० जनाको नाम सिफारीस गरिएको बताए । उनले हाल भने केन्द्रबाटै उम्मेदवार छनोट प्रक्रिया स्थगित गर्ने सर्कुलर भएकाले उम्मेदवार छनोटको काम थाती रहेको बताए ।

‘पहिले केन्द्रिय सर्कुलर अनुसार वडाबाट प्रतिनिधि छनोटको काम अगाडी बढेको थियो । सोही अनुसार वडाबाट नाम माग गरेका थियौ’ उनले भने ‘अहिले केन्द्रले उम्मेदवार छनोट गर्ने काम स्थगित गर्ने भनेपछि हाललाई काम रोकिएको छ ।’ माओवादी केन्द्रले पनि नगरका १२ वटै वडाबाट आकांक्षीको नाम नगरमा संकलन गरिरहेको छ ।

माओवादी केन्द्रको पनि वडामै आकांक्षीको टुङ्गो नलागेपछि हाल वडाले आकांक्षीको नाम नगरमा सिफारिस गरेको छ । माओवादी केन्द्रका गोदावरी नगर कमिटी अध्यक्ष धर्म सिह कुँवरले प्रत्येक वडाबाट आकांक्षीको नाम नगरमा आउने क्रम जारी रहेको बताए ।

‘आकांक्षी धेरै छन । भोलिसम्ममा सबै वडाका आकांक्षीको विवरण आइसक्छ’ उनले भने ‘आकांक्षी मध्येबाट नगरले छिटै टुङ्गो लगाउँछ ।’ उनले गठबन्धन भइहाले छनोट गरिएका उम्मेदवार नै माओवादीको भागमा परेको वडामा चुनाव लड्ने र बाँकी पछि हट्ने बताए । एकीकृत समाजवादीले भने १२ वटा मध्ये ६ वडाका अध्यक्ष निर्विरोध चयन गरेको छ ।

एकीकृत समाजवादीले वडा नम्बर ४, ५, ७, ८, १० र १२ मा निर्विरोध अध्यक्षको टुङ्गो लगाएको हो भने बाँकी वडामा एक भन्दा बढी आकांक्षी देखिएका छन । एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष टेक विकले टुङ्गो लाग्न बाँकी वडाका आकांक्षीको नाम जिल्लामा पठाइएको बताए ।

अन्य साना दलहरुले पनि वडामा उम्मेदवार उठाउने घोषणा गरिरहेका भएपनि खासै विवाद भने देखिएको छैन । २०७४ सालको स्थानीय चुनावमा मेयर र उपमेयर एमालले जितेको भएपनि हाल उपमेयरले एमाले विभाजन पछि समाजवादी रोजेकी छिन ।

त्यसै १२ वडा मध्ये एमाले ६ वडामा जितेको थियो । जसमध्ये २ वडा अध्यक्षले सामाजवादी रोजेका छन । उक्त चुनावमा कांग्रेसले ५ वडामा जितेको थियो । माओवादीले १ वडामा जित हात पारेको भएपनि उनी हाल एमालेमै संक्रिय रहेका छन ।