अत्तरिया – डडेल्धुराको अमरगढीमा ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम संचालन भएपछि विद्यार्थीहरुलाई विद्यालयमै स्वास्थ्य सेवा लिन सहज भएको छ । नगरपालिकाका १० वटा विद्यालयमा कार्यक्रम संचालन भएपछि विद्यार्थीहरुलाई विद्यालयमै स्वास्थ्य सेवा लिन सहज हुन थालेको हो ।
अमगरढी नगरपालिकाको खलङ्गा माद्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत दिया जोशीले विद्यालयमा नर्स शिक्षिका आएपछि स्वास्थ्य सेवा र काउन्सलिङ लिन निकै सहज भएको बताईन् ।

‘महिनाबारी हुँदा पनि मेम आएपछि सहज भएको छ । त्यस्तो समयमा मेमले हामीलाई सहयोग र आवश्यक सल्लाह दिनुहुन्छ’ उनले भनीन् ‘अहिले विद्यालयमा कुनै पनि समस्या आउँदा विद्यालयमा नर्स शिक्षिका संग सहयोग लिन सहज भएको छ । अहिले हामी विद्यालयमा निर्धक्क भएर आउन सक्छौ । विद्यालयमा केही भइहाले पनि हामीसंग मेम हुनुहुन्छ ।’
महेन्द्र माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत चक्र बिष्टले विद्यालयमा नर्स शिक्षिका आएपछि विद्यार्थीमा टाउको दुख्ने लगायतका कुनै पनि समस्या आएमा उपचार गर्न सहज भएको बताए । उनले भने ‘सामान्य समस्या हुँदा अस्पताल जानु परेको छैन । स्कुलमै उपचार पाइने गरेको छ ।’

विद्यालय नर्स शिक्षिका दिपा स्वारले कार्यक्रम मार्फत विद्यालयमा छात्राहरुलाई निःशुल्क प्याड दिने गरेको बताइन् । उनले महिनावारी हुँदा छात्राहरुलाई खुलेर आफूसंग कुरा राख्न सहज भएको बताईन् ।
नगरपालिकामा शैक्षिक सत्र २०७७/०७८ देखि ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु भएको थियो । नेपाल सरकारले डेढ बर्ष अगाडी ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम संचालन गर्नका लागि देशभरका २ सय २२ विद्यालय छनोट गरेको थियो ।
जसमा सुदूरपश्चिमबाट अछामको मंगलसेन नगरपालिकाका १० र डडेल्धुराको अमगरगढी नगरपालिकाका १० विद्यालय छनोट भएका थिए । दुवै नगरपालिकामा गत शैक्षिक सत्रदेखि नै उक्त कार्यक्रम संचालनमा आएको थियो ।
अमगरगढी नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक प्रेमे बहादुर ऐरले नर्स शिक्षिकाहरुले महिनावारी सम्बन्धी कक्षा दिने, प्याडको महत्वको बारेमा जानकारी दिने, लगायतका काम गर्ने गरेको बताए ।
‘कार्यक्रमको मुख्य उद्देश्य भनेको स्कुलमा हुने चोटपटकका घटना, आकस्मिक उपचार, स्वास्थ्य क्षेत्रका हाइजिन मेन्टेन गर्ने कुराहरु, स्वास्थ्य र सरसफाइका कुरा, खानपिनका कुराहरु, बच्चाहरुमा दिवाखाजाको कुराहरु लगायतका सेवाका लागि वहाहरुले काम गरिरहनु भएको छ’ उनले भने ‘वहाहरुले किशोर –किशोरीहरुमा आउने मानसिक बिचलनलाई कम गर्न काउन्सलिङ पनि गर्नुहुन्छ ।’
बालबालिकालाई साना – साना कुरामा पनि धेरै तनाव हुने, जसले गर्दा बालबालिकाले आत्महत्या गर्ने, विष खान प्रयास गर्ने, हात खुट्टा काट्ने समस्याहरु बढी हुने गरेकोमा कार्यक्रम संचालनमा आएपछि ति समस्या कम हुँदै गएको नगरपालिकाले जनाएको छ ।
विद्यालय जाने उमेरका बालबालिका तथा किशोर–किशोरीहरूमा विभिन्न खालका समस्या जस्तै : नाक, कान तथा घाँटी , मुटु, मुख, आँखा जस्ता रोगहरू पहिचान गर्न कार्यक्रमबाट सहयोग पुग्ने विद्यालय नर्स कार्यविधिमा उल्लेख छ ।



















