खाेज्नुहाेस

ठेलागाडा व्यवस्थापनमा असफल बन्दैं गोदावरी नगरपालिका

Image

अत्तरिया – कैलालीको अत्तरिया बजारमा ठेलागाडा व्यवस्थापनमा गोदावरी नगरपालिका असफल देखिएको छ । साढे ४ बर्ष अगाडी निर्वाचित जनप्रतिनिधिले नै बजारमा ठेलागाडा र खोकाछाप्रा हटाएर बजार व्यवस्थापन गर्ने योजना अगाडी सारेका भएपनि समस्या अझै उस्तै छ ।

बजारलाई व्यवस्थापन गर्ने भन्दै बेला–बेलामा ठेलागाडा हटाउने र फेरी बेवास्ता गर्ने गरिएको छ । जसले गर्दा बजारमा ठेलागाडाको दिगो व्यवस्थापन हुन सकेको छैन । ३ महिना अगाडी पनि अत्तरिया बजारमा भएका ठेलागागालाई व्यवस्थापन गर्ने भन्दै बजार क्षेत्रमा रहेका ठेलागाडा बसपार्कमा राखिएका थिए ।

attariya hospital

तर, अहिले बसपार्कमा राखिएका सबैजसो ठेला बजार क्षेत्रमा नै राख्न थालिएको छ । अत्तरिया बजार व्यवस्थापन समितिका अध्यक्ष बाजी कामीले बसपार्कमा व्यापार कम हुन थालेपछि ठेला व्यवसायी बजारमा आउने गरको बताए । उनले पुरै बजारका ठेला एकैठाउँमा राखिएकाले त्यहाँ व्यापार कम भएपछि उनीहरु बजारमै आउन थालेको बताए । ‘अब बसपार्कमा व्यवस्थापन हुन्छ की भन्ने आशा थियो । तर, त्यहाँ व्यवसाय चलेन भनेर साथिहरु रोडमै आए’ उनले भने ‘अहिले पुनः बजारमा ठेलागाडा भरिन थालेपछि अब कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल हुन पाएको छैन ।’

अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले नगरपालिका संग पटक पटक व्यवस्थानका लागि माग गर्दा पनि वास्ता नगरेको बताए । उनले नगरपालिकाले बसपार्कमा ठेला व्यवस्थापन गरेपछि उनीहरु त्यहा बसेका छन कि छैनन् भन्ने बारेमा नियमित अनुगमन नगर्दा समस्या दोहरीएको बताए । ‘ठेलागागाको स्थायी रुपमा नगरपालिकाले व्यवस्थापन गर्नुपर्ने हो । तर, नगरपालिकाले पनि वास्ता गर्दैन’ उनले भने ‘नगरपालिकाले नगर प्रहरी परिचालन गरेर ठेलागाडाको व्यवस्थापन गर्नु पर्ने हो । नगरप्रहरीलाई परिचालन गरेपनि यो समस्या समाधान हुने थियो ।’

अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञ राज जोशीले बिच सडकमा ठेला लगाएर व्यापार गर्दा दुर्घटनाको जोखिम बढनुका साथै बजार अस्तव्यस्त हुन थालेको बताए । नगरपालिकाले बसपार्कमा राखेपनि पुनः बेवास्था गर्दा अहिले सबै बजारमै आउन थालेका छन । ‘साँझ ४ बजे पछि त सबै बजारमै आउने गरेका छन’ उनले भने ‘साँझ नै बढी भिड हुने र साँझ नै चोकमै ठेलागाडा राखिदाँ दुर्घटनाको जोखिम बढेको छ ।’ उनले नगरपालिकाले नगरप्रहरीलाई परिचालन गर्न सकेमा यो समस्या समाधान हुने बताए ।

navjiwan hospital

उता गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले ठेला व्यवसायी भित्र नै राजनीति हुन थालेपछि व्यवस्थापनमा समस्या भएको बताए । उनले ठेलागाडालाई अत्तरिया बसपार्कमा राखेको भएपनि बिभिन्न अनावश्यक माग राखेर व्यवस्थापनमा अवरोध गर्ने गरेको बताए ।

‘बजारमा हुने खानेले नै २/३ वटा ठेला राखेका छन । तर यस्ता ठेला व्यवसायीले व्यवस्थापनमा राजनीति गर्ने भएकाले वास्तविक गरिब मान्छेको ठेला छुट्याउन पनि समस्या भएको छ’ उनले भने ‘अब पुनः सबै सरोकारवाला बसेर यसको दिगो व्यवस्थापनका लागि छलफल गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

उनले बजारमा जुन ठाउँमा ठेला राखे पनि बाटोमा अवरोध नहुने र फोहर नहुने गरी व्यवस्थापन गर्ने बिषयमा पनि छलफल गर्न आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

अत्तरियाका बिच सडकमा व्यापार : बेच्नेको बाध्यता की नगरको उदासिनता

अत्तरियाका ठेलागाडाको दिगो व्यवस्थापनमा चुनौती

…त्यसपछि म ठेला व्यवसायी बने