खाेज्नुहाेस

अत्तरियाका बिच सडकमा व्यापार : बेच्नेको बाध्यता की नगरको उदासिनता

Image

त्तरिया – ६२ बर्षिय शान्ती राम निरौलालाई अत्तरियाको फुटपातमा ठेला राखेको दुई महिना पुग्यो । कैलालीको गोदावरी नगरपालिका–१ का निरौला धनगढीको एक बैंकमा सुरक्षागार्डको रुपमा काम गर्थे ।

२ महिना अगाडी उनले त्यो जागिर गुमाएपछि भने आयश्रोतको एक मात्र उपाय अत्तरियाको फुटपातमा ठेला राख्ने देखे र, उनले २७ हजार लगानी गरेर ठेला राखे । उनले ठेलामा स्याउ, केरा लगायतका फलफूल बेच्न थाले ।

attariya hospital

‘६ जनाको परिवार छ । ४ छोराछोरी र श्रीमतीको जिम्मेवारी आफ्नै टाउकोमा छ’ उनले भने ‘बैंकको काम छुटेपछि अन्य केही उपाय देखेन अनी यही सडक बिचमा ठेलामा व्यापार गर्न बसे ।’

उनले दशैं तिहारमा केही खर्च जुट्छ की भनेर व्यापार गर्न बसेको बताए । सडकमा बस्ने मानिस विपन्न वर्गका नै हुने बताउँदै उनले भने ‘नगरपालिकाले हटाउन्छौ भनेर पटक–पटक भनेको सुन्छौ तर हामी हटेर कहाँ जाने । हटाए पनि अरु ठाउँमा व्यवस्थापन गर्नुपर्छ ।’

निरौला जस्तै सडक पेटिमै ठेला राखेका राम बहादुर बिष्टले आफूलाई ठेला राखेको ३ दिन मात्रै भएको बताए । ४० हजार लगानी गरेर गुडाउन मिल्ने ठेला बनाएका उनले नगरपालिकाले सबै ठेला हटाए आफूपनि हट्न तयार रहेको तर, कुनै निश्चित ठाउँमा व्यवस्थापन गर्नुपर्ने बताए । फलफुलको ठेला राखेका उनले दिनमा ५/६ सय कमाई हुने बताए ।

निरौला र बिष्ट केही दिन अगाडी मात्रै फुटपातमा व्यपार गर्दै आएका भएपनि जुत्ता चप्पल सिलाउने गणेश सार्कीको कथा भने फरक छ ।

navjiwan hospital

उनलाई फुटपाटबाटै रोजिरोटी चलाउन थालेको २५ बर्ष भयो । अत्तरियाको महेन्द्रनगर रोडको सिएमए गेट अगाडी जुत्ता चप्पल सिलाउने काम गर्ने सार्की सडककै कामबाट परिवार पालिएको बताउँन्छन । ‘यो नगरपालिका नहुदा देखि नै मेरो यो ठाउँबाट रोजिरोटि चलेको छ । मलाई अहिले यहाँबाट हटाए कहाँ जाने’ उनले भने ‘२५ बर्ष देखि यो सडकमा धुलो माटो खाएर बसेको छु । ९ बर्ष अगाडी सितल पाइला भनेर रुख रोपेको थिए । अहिले त्यसैको छाहारीमा बसेको छु ।’उनले आफु सडकबाट हट्न तयार भएपनि अरु ठाउँमा व्यवस्थापन गर्नुपर्ने बताए ।

यी केही प्रतिनिधि पात्र मात्रै हुन पछिल्ला केही दिन यता अत्तरिया बजारमा ठेला छाप्रा राख्नेको संख्या दिन प्रतिदिन बढ्दै जान थालेको छ । दशै तिहार नजिकिए संगै व्यपार राम्रो हुने आशाले पनि धेरै मानिसहरुको सडक किनाराको व्यपार रोजाईमा पर्न थालेको छ । दिनप्रतिदिन नयाँ ठेला व्यवसायी थपिदै थपिदै जान थालेपछि अहिले अत्तरिया बजार अस्तव्यस्त बन्न थालेको छ ।

अत्तरिया बजार व्यवस्थापन समितिका अध्यक्ष बाजी बिकले भने कोरोना महामारीका कारण धेरै मानिसहरुले रोजगार गुमाएका कारण खोका छाप्रामा व्यवासाय गर्ने व्यवसायीको संख्या बढेको बताए । ‘कोरोना महामारीका कारण धेरैको रोजगारी गुमेको छ । गरिब मानिसहरु संग ठूलो व्यवसाय गर्ने पैसा छैन’ उनले भने ‘पहिले पनि नगरपालिकाले खोका छाप्रा हटाएर व्यवस्थापन गरिदिएन । अहिले फेरी हटाउने भन्दै छ रे । दशैं तिहारको मुखमा यसरी सडकका काम गर्नेलाई हटाउदा अलि गाह्रो पर्छ होला ।’ उनले नगरपालिकाले खोका छाप्रामा व्यवसाय गर्नेलाई पहिले नै व्यवस्थापन गरिदिएको भए यो समस्या नआउने बताए ।

जारले पुरानै आकार लिदै

करिब ४ बर्ष पहिले अत्तरिया बजारमा भएका खोकाछाप्रा हटाइएका थिए । स्थानिय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बजारमा अव्यवस्थित तरिकाले राखिएका खोकाछाप्रा हटाइएपछि अत्तरिया बजार व्यवस्थित बनेको थियो ।

तर, पुनः खोका छाप्रा थपिदै गएपछि बिस्तारै अत्तरिया बजारले पुरानै आकार लिन थालेको छ । पहिले हटाइएका खोका छाप्राको व्यवस्थापन नगरिदा र नगरपालिकाले उदासिनता देखाउदा अहिले दिन प्रतिदिन खोका छाप्रा थपिने क्रम बढ्न थालेको छ ।

सडकमा बस्नु बाध्यता भएपनि व्यवस्थित नहुँदा त्यसले झन बिकराल समस्या लिन थालेको छ । एकातिर व्यापारको लोभमा हुनेखाने वर्ग पनि सडकको व्यापारमा आउन थालेपछि वास्तविक पीडित मारमा पर्ने खतर छ भने अर्कोतिर अव्यवस्थिति बजारीकरणले सहरको सौन्दर्यता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको छ ।

उता गोदावरी नगरपालिका कार्यवाहक प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले चाडपर्वका समयमा बजारमा बढी भिडभाड हुने भएकाले नगपालिकाले खोका छाप्रा नराख्न आग्रह गरेको बताए । उनले सडकमा व्यपार नगर्न भनेर सोमबार देखि नगरपालिकाले बजारमा माइकिङ गर्ने बताए ।