अत्तरिया – कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना मा.वि जारी एभरेष्ट फुटबल टुर्नामेन्टको सेमिफाईनलमा प्रवेश गरेको छ । बुधबार जनकल्याण मा.वि लाई १–० गोलअन्तरले पराजित गर्दै दुर्गालक्ष्मी सेमिफाईनलमा प्रवेश गरेको हो ।
टुर्नामेन्ट अन्तरगत बुधबार तिन ओटा खेलहरु सम्पन्न भएका थिए । बुधबारको पहिलो र दोस्रो खेल पहिलो चरण अन्तरगत नै भएका थिए भने अन्तिम खेल मात्रै क्वाटरफाईनल खेल थियो । बुधबारको पहिलो खेल लोटस आई मावि र माउन्ट ओलिभ स्कुल बिच भएको थियो ।

जसमा माउन्ट ओलिभ स्कुलले लोटस आई स्कुल लाई २–१ को गोलअन्तरले पराजित गरेको छ । लोटस आईलाई पराजित गरेसँगै माउन्ट ओलिभ क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

यसैगरी बुधबार नै भएको दोस्रो खेलमा सक्षम पाठशालाले मल्सिमि एकेडेमीलाई टाईब्रेकरमा पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा सक्षम पाठशालाले मल्सीमि एकेडेमीलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।
बिहिबार क्वाटरफाईनल अन्तरगतका ३ ओटा खेलहरु आयोजना हुने खेल संयोजक धर्मराज भट्टले बताए । उनका अनुसार बिहिबारको पहिलो खेल सत्यवती एकेडेमी र ईम्मानुयल स्कुल बिच हुनेछ भने दोस्रो खेल सैनिक आवाशिय माध्यमिक विद्यालय र त्रिपोलार मावि बिच हुनेछ । बिहिबारको अन्तिम खेल माउन्ट ओलिभ स्कुल र सक्षम पाठशाला बिच हुने खेल संयोजक भट्टले बताए ।
अत्तरियामा रहेको एभरेष्ट एकेडेमी, निजि तथा आवाशिय विद्यालय अर्गनाईजेसन (प्याब्सन) गोदावरी नगरकमिटि र गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको न्यू मालिका युवा क्लबले संयुक्त रुपमा प्रतियोगीताको आयोजना गरेका हुन । प्रतियोगितामा कैलाली र कञ्चनपुरका १७ निजी विद्यालयका टिम र १ सामूदायिक विद्यालय गरी १८ टिम सहभागि रहेका छन ।
प्रतियोगिताको विजेता टिमलाई १५ हजार तथा उपविजेतालाई १० हजार प्रदान गरिने छ भने प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ दि म्याच बराबर १ हजार र बेष्ट प्लियरलाई ३ हजार दिने जनाइएको छ । प्रतियोगिताको फाइनल खेल पुस ३ गते खेलाइने जनाइएको छ ।















