डोटी – डोटीमा एकजना पुरूषको कोरोनाविरूद्धको दोस्रो मात्रा खोप लगाएको केही समयमै मृत्यु भएको छ । शिखर नगरपालिका –२ घगडाका ५८ वर्षीय लाल बहादुर बोगटीको मृत्यु भएको हो ।
गाउँनजिकै रहेको खोप केन्द्रमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएर घर गएको केही समयमै बोगटीको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख उद्धब बहादुर ठगुन्नाले बताए । बिहान साढे आठ बजे उनले खोप लगाएको शिखर नगरपालिकाका स्वास्थ्य एकाइ प्रमुख हरिष शाहले जानकारी दिए । उनले भने, ‘बोगटीको मृत्यु सवा एघार बजे भएको हो ।’


खोप लगाएर घरमा गई खाना खाएर कोठामा आराम गरिरहेको समयमा उनको मृत्यु भएको हो । उनको मृत्य खोपका कारण नभएर अन्य कारणले भएको हुनसक्ने शाहले बताए ।
खोपको एक भाइल (सिसी) मा दुई डोज खोप हुन्छ, इकाइ प्रमुख शाहले भने, ‘उनलाई लगाएको भाइलबाट अर्को व्यक्तिलाई समेत लगाएको र अर्को व्यक्तिलाई कुनै किसिमको समस्या नदेखिएकाले खोपकै कारणले उनको मृत्यु भएको हो भन्न सकिदैन ।’
उनी दिर्घरोगी भएको र उनको मृत्यु हृदयघातका कारणले भएको हुनसक्ने बताइएको छ ।



















