बाजुरा – दसैंतिहारको सुविधा कटौती भएपछि जिल्ला अस्पताल बाजुराका करारका कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालमार्फत उनीहरुले प्रदेश सामाजिक विकासमन्त्री सन्तोषी शर्मा र सचिवलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।
संघीय सरकारले ल्याएको नीतिअनुरुप प्रदेश सरकारले करारका कर्मचारीलाई दसैंतिहारको भत्ता समेत कटौती गरेको र प्रदेश सरकारले कर्मचारीमाथि विभेद गरेको डा. नकेन्द्र मल्लले बताए। उनका अनुसार स्थायी र करारका कर्मचारीलाई दसैंतिहार सुविधामा असमान व्यवहार भएकाले तत्काल चाडपर्वमा दिइने सुविधा उपलव्ध गराउन माग गरेका छन् ।


ज्ञापनपत्रमा करारका कर्मचारीमाथि सरकारले अन्याय गरेर निराश बनाएको उल्लेख गरिएको छ । पत्रमा नेपालको श्रम ऐन २०७४, नियमावली २०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य ऐन २०७६ दफा ८२ को नियमावलीमा चाडपर्वमा पाउने हक उल्लेख गरिए पनि करारका कर्मचारीलाई विगतका वर्षदेखि उक्त भत्ता उपलब्ध नगराएको भनिएको छ ।
प्रदेश सरकारले ऐन र नियमावलीको विपरीत करारका कर्मचारीमाथिको विभेद गरेको करार कर्मचारी लेकराज पाण्डेले बताए । आफ्ना माग सम्बोधन नभएमा कात्तिक ७ गतेबाट अस्पतालका सेवासमेत बन्द गरी आन्दोलनमा जाने करारका कर्मचारीहरुले चेतावनी दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले प्रदेश सरकारले कर्मचारीमाथि विभेद गर्न नहुने बताए । उनले प्रदेश मन्त्रालय र कोष तथा लेखा नियन्त्रयक कार्यालयमा जानकारी दिई समस्या समाधान गर्न लाग्ने प्रतिबद्धता जनाए ।

















