अत्तरिया – कैलालीमा असोज महिनाभर लागू औषधको कारोबार तथा ओसारपसारमा संलग्न ४१ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले असोज महिनामा लागू औषधसम्बन्धी २२ वटा मुद्दा दर्ता गर्दै १ महिला र ४० पुरुष गरी ४१ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको असोज महिनाको मासिक प्रगति विवरण अनुसार पक्राउ परेकाहरूको साथबाट ४० ग्राम ५९० मिलिग्राम हेरोइन (ब्राउन सुगर), ६४ ग्राम चरेस र ४ ग्राम १८० मिलिग्राम गाँजा बरामद गरिएको छ ।

प्रहरीका अनुसार असोज महिनामा कूल १५८ वटा अपराधका मुद्दाहरू दर्ता भएका छन् । जसमध्ये कर्तव्य ज्यानका ३ वटा, ज्यान मार्ने उद्योगका १ वटा, बैंकिङ कसूरका १९ वटा, चोरीका १३ वटा, सामाजिक अपराधका १८ वटा र महिला तथा बालबालिका सम्बन्धी १७ वटा मुद्दा रहेका छन् । यसैगरी, सो अवधिमा विभिन्न मुद्दाका १४९ जना अभियुक्तहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।
अदालतको फैसला कार्यान्वयनतर्फ ३० जना फरार प्रतिवादीलाई पक्राउ गरी ११ वर्ष २ महिना ८ दिन कैद र रु ६ लाख ४५ हजार ३६२ जरिवाना असुल गराइएको प्रहरीले जनाएको छ ।
राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणतर्फ १ करोड ३१ लाख ८ हजार २९५ रुपैयाँ बराबरको अवैध सामानसहित १८ जनालाई नियन्त्रणमा लिइएको छ । त्यस्तै, अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत १४५ लिटर घरेलु मदिरा र ७ सय लिटर कच्चा पदार्थ नष्ट गरिएको छ ।
प्रहरीले असोज महिनाभर जिल्लामा दुर्घटना न्यूनीकरण, लागू औषध विरुद्धको सचेतना, आत्महत्या न्यूनीकरण तथा साइबर अपराध लगायतका विभिन्न विषयमा २०१ वटा जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरेको प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।

जिल्लामा असोज महिनामा ७४ जना महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू हराएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार सो अवधिमा हराएकामध्ये ७३ जनालाई प्रहरीले फेला पारेको छ । हराएका र फेला परेकाहरूको विवरण अनुसार असोज महिनामा ३० जना महिला हराएकोमा ३४ जना (अघिल्लो महिनाका समेत गरी) फेला परेका छन् ।
त्यस्तै, बालबालिकातर्फ बालक ६ जना हराएकोमा ५ जना फेला परेका छन् । बालिका १८ जना हराएकोमा १६ जना फेला परेका छन् । यसैगरी, १५ जना पुरुष हराएकोमा १७ जना फेला परेका छन् भने ४ जना ज्येष्ठ नागरिक हराएकोमा २ जना फेला परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । हराएका अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको र उनीहरूलाई फेला पारेर आफन्तको जिम्मा लगाउने कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए ।
२४ जनाले गरे आत्महत्या
कैलाली जिल्लामा पछिल्लो एक महिनाको अवधिमा २४ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको असोज महिनाको प्रगति विवरणअनुसार सो अवधिमा विभिन्न कारणले २४ जनाले आफ्नै जीवन समाप्त गरेका हुन् ।
प्रहरीको तथ्याङ्कअनुसार आत्महत्या गर्नेहरूमा १५ जना पुरुष, ६ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन् । ज्यान गुमाउनेमध्ये अधिकांशले झुण्डिएर आत्महत्या गरेको पाइएको छ । तथ्याङ्कअनुसार २१ जनाले झुण्डिएर र ३ जनाले विष सेवन गरी आत्महत्या गरेका छन् । मृतकहरूको उमेर समूहको विश्लेषण गर्दा युवा तथा वृद्ध उमेर समूहका व्यक्तिहरू बढी प्रभावित भएको देखिएको छ ।
जसमा १० देखि २० वर्ष उमेर समूहका ८ जना, २१ देखि ३० वर्षसम्मका ७ जना र ५० वर्षभन्दा माथिका ६ जना रहेका छन् । त्यसैगरी, ३१ देखि ४० वर्षसम्मका २ जना र ४१ देखि ५० वर्ष उमेर समूहका १ जनाले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
बढ्दो आत्महत्याका घटनालाई नियन्त्रण तथा न्यूनीकरण गर्न प्रहरीले सचेतनामूलक अभियानलाई तीब्रता दिएको जनाएको छ । सोही क्रममा असोज महिनाभर जिल्लाका विभिन्न स्थानमा आत्महत्या न्यूनीकरणसम्बन्धी २६ वटा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।


















