धनगढी – सरकारले कर्मचारीको तलब तथा सेवा सुविधा वृद्धि गरे पनि सेती प्रादेशिक अस्पतालका करार कर्मचारीले चाडपर्व खर्च र अन्य सुविधा नपाएको गुनासो गरेका छन्। सेवा सुविधामा विभेद भएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनरत कर्मचारीले बिहीबार सामाजिक विकास मन्त्रालय र शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिएका छन्। वर्षौंदेखि तलब, चाडपर्व भत्ता र अन्य सुविधामा विभेद सहनुपरेको उनीहरूको गुनासो छ।


उनीहरू अन्य कर्मचारीसरह सेवा सुविधा पाउनुपर्ने माग गरेका छन्। बिरामीको चापका बीच काम गर्नुपर्ने भए पनि पारिश्रमिक र सुविधामा बेवास्ता गरिएको उनीहरूको भनाइ छ।
चालु आर्थिक वर्ष २०८३/८४ देखि सरकारले सरकारी कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरेको छ। साथै, कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता र मासिक पाँच हजार रुपैयाँ महँगी भत्ताको व्यवस्था पनि गरिएको छ। तर, यी सुविधा करार कर्मचारीको हकमा कसरी लागू हुने भन्ने विषयमा अन्योल रहेको कर्मचारी बताउँछन्।
यता, सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्माले भने करार कर्मचारीले नियुक्तिको प्रकृति, करार सम्झौता, सम्बन्धित नियम र स्वीकृत बजेटअनुसार सेवा सुविधा पाउने बताएकी छन्।

















