खाेज्नुहाेस

बाजुरामा क्याम्पस बनाउने भनेर निर्माण गरिएका भवन अलपत्र

Image

बाजुरा – बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटमा करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका दुईवटा भवन प्रयोगविहीन अवस्थामा अलपत्र परेका छन् । पालिकाले क्याम्पस स्थापना गर्ने उद्देश्यले निर्माण गरेका भवन पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि प्रयोगमा आउन सकेका छैनन् । संरक्षण र नियमित उपयोगको अभावमा भवनका संरचनासमेत जीर्ण बन्दै गएका छन् ।

navjiwan hospital

जुकोटको डाँडामा निर्माण गरिएका उक्त भवनमा कुल २ करोड ३६ लाख ६० हजार ३ सय २६ रुपैयाँ खर्च भएको गाउँपालिकाका सूचना अधिकारी सुविस्तबहादुर शाहीले जानकारी दिए । उनका अनुसार जग्गा खरिदमा ७ लाख ७१ हजार १ सय ९० रुपैयाँ, भवन निर्माणमा १ करोड ५८ लाख ८९ हजार १ सय ३६ रुपैयाँ र पर्खाल निर्माणमा ६० लाख रुपैयाँ खर्च गरिएको थियो । भवन निर्माणका लागि भने तीन करोड रुपैयाँभन्दा बढीको ठेक्का सम्झौता गरिएको थियो ।

attariya hospital

करोडौँ रुपैयाँ खर्च गरेर निर्माण गरिएका भवन अहिले प्रयोगविहीन छन् । भवनका कोठामा गाईगोरु बस्ने गरेको स्थानीय बताउँछन् । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले आफू निर्वाचित हुनुअघिको कार्यकालमा निर्माण भएका भवन प्रयोगमा ल्याउन प्रयास गरे पनि सफल हुन नसकेको बताए । उनका अनुसार सुरुमा जग्गा खरिद गर्दा शम्भुसुन्दा माध्यमिक विद्यालयका नाममा गरिएको थियो ।

पालिकाले उक्त भवनमा विद्यालय सञ्चालन गर्ने, वडा कार्यालय राख्ने वा स्वास्थ्य चौकी सार्ने विकल्पमा छलफल गरे पनि स्थानीयबीचको विवादका कारण भवन प्रयोगमा ल्याउन नसकिएको जनाएको छ ।