खाेज्नुहाेस

बझाङमा खाद्यको चामल महँगो भएपछि बजारबाटै खरिद

Image

रमेश बहादुर सिह/बझाङ – बजार मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्ने चामल महँगो हुँदा कम्पनीको गोदामबाट चामल बिक्री हुन छाडेको छ । पसलभन्दा कम्पनीमा प्रतिकिलो तीन रुपैयाँले चामल महँगो भएको स्थानीयहरुले बताएका छन् ।

कम्पनीले बिक्री गर्ने चामल बजार भाउभन्दा प्रतिकिलो तीन रुपैयाँ महँगो भएपछि स्थानीयले किन्न छाडेको जयपृथ्वी नगरपालिका–११ भोपुरका सुरेन्द्र जोशीले बताए ।

attariya hospital

‘पहिला पहिला चर्को घाममा कम्पनीमा हामी दिनभर लाइन लागेर दुई दिनसम्म चामल पाउँदैनथ्यौं,’ जोशीले भने, ‘अहिले घरघर यातायातका साधनहरु पुगेपछि कम्पनीमा जान छाड्यौं । संस्थानको भन्दा सस्तो घरमै पुग्छन चामल ।’

जिल्लामा शाखा कार्यालय र तीनवटा डिपो गरी खाद्य संस्थानका चारवटा बिक्री केन्द्र छन । शाखा कार्यालय देवल, डिपो कार्यालय विसौना र तलकोटबाट प्रतिकिलो ४५ र काँडा डिपोबाट प्रतिकिलो ५० रुपैयाँमा अरुवा मोटो चामल बिक्री हुँदै आएको छ ।

navjiwan hospital

यही चामल बजारमा प्रतिकिलो ४२ रुपैयाँमा बिक्री हने गरेको उद्योग वाणिज्य संघ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बझाङ कार्यालय शाखा प्रमुख ईश्वरीदत्त पाण्डेले भने बजारको चामलभन्दा कम्पनीमा रहेको चामल गुणस्तरको भएकाले मूल्य बढी तोकिएको बताए । उनले मूल्य महँगो भएको जनगुनासो आए पनि केन्द्रबाट परिपत्र नआएसम्म मूल्य परिवर्तन गर्न नमिल्ने बताए ।

पाण्डेका अनुसार गोदामबाट कारागारबाहेक अन्य कुनै सरकारी कार्यालयले पनि चामल किन्दैन । संस्थानको कार्यालयमा पुग्नको लागि यातायातका साधन पुग्ने बाटो नभएकाले पनि यस्तो भएको उनको भनाइ छ ।

‘अहिले घरघरमा यातायातका साधन पुगेका बेला बोकेर कसले दुःख गरेर चामल बोक्ने ?’ उनले भने ‘पायक पर्ने ठाउँमा कार्यालय नभएर पनि चामल बिक्रीमा समस्या भएको छ । किन्न कोही आउँदैनन् । अहिले त कारागारमा चाहिने परिणाममा मात्र चामल मगाउने गरेको छु ।’

सरकारले चामल सर्वसाधारणलाई सहुलियतमा उपलब्ध गराउने भनिए पनि केन्द्रीय कार्यालयबाटै मूल्य तोकेर आउने गरेको छ । मूल्य तोकिएर आउने गरेपछि केही वर्षदेखि नै संस्थानको र बजारको मूल्यमा तीन रुपैयाँ फरक पर्न थालेको छ ।