अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–४ मा जुवा खेलिरहेको स्थानबाट प्रहरीले बरामद गरेको से १ ब ११८१ नम्बरको सरकारी मोटरसाइकल वडाध्यक्षका साथीले त्यहाँ पुगाएको पाइएको छ ।
अत्तरिया अनलाइनले प्रहरीले समेत गुपचुप राखेको जुवाखालमा भेटिएको सरकारी मोटरसाइकल बझाङको जयपृथ्वी नगरपालिका – ११ का वडाध्यक्ष सर्जनबहादुर थापाको नाममा रहेको खुलासा गर्दै समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएपछि भने उक्त मोटरसाइकल कसरी जुवाखालमा पुगेको भन्ने बारेमा वडाध्यक्षले नै समाचारको खण्डन गर्दै आफूले त्यहाँ नलगेको बताएका छन् । उनले आफू धनगढी आएका बेला बझाङको सुर्मा गाउँपालिका – २ का रोशन बोहराले मोटरसाइकल चलाएको बताएका छन् ।

‘मलाई मोटरसाइकल चलाउन पनि आउँदैन । म सँग लाइसेन्स पनि छैन’ उनले भने ‘वडामा मेरो नाममा मोटरसाइकल नगरपालिकाबाट ल्याइएको भए पनि मैले कहीँ जानुपरे मोटरसाइकल चलाउन साथीभाइको सहयोग लिने गरेको थियो । योजनाको कामले धनगढी आउँदा पनि म साथीलाई नै ल्याएर आएको थिए । त्यो दिन म दिदीलाई महेन्द्रनगर भेट्न गएका बेला साथीले धनगढीमा रहेको मोटरसाइकल गोदावरी लगेर गएको रहेछ ।’
उनले मोटरसाइकल प्रहरी कार्यालयमा पुगेको फोन आएपछि मात्रै थाहा पाएको बताए । उनले मोटरसाइकल प्रहरीले समातेपछि साथी पनि सम्पर्कमा नआएकाले मोटरसाइकल बुझ्न ढिलो भएको बताए ।
अत्तरिया अनलाइन सँगको कुराकारीमा रोशनले पनि आफूले वडाध्यक्षको मोटरसाइकल चलाएको स्वीकारेका छन् । उनले सो दिन साथीहरू सँग गोदावरी गएका बेला त्यहाँ पुगेको बताए ।
उनले आफू त्यहाँ हेर्न मात्रै गएको बताउँदै त्यहाँ पुग्नेबितिकै प्रहरी आएपछि भाग्नुपरेको बताए । प्रहरीले भने यस घटनाका विषयमा कुनै पनि सूचना दिन आनाकानी गर्दै आएको छ ।

















