काठमाडौं – इन्टरनेटमा फैलिँदै गएको फेक भिडियो र डीपफेकको जाल तोड्न युट्युबले आफ्नो लाइकनेस डिटेक्शन प्रोग्राम (Likeness Detection Program) ल्याएको छ । कम्पनीले जनाएको छ कि अब १८ वर्षभन्दा माथिका कुनै पनि प्रयोगकर्ताले यो लाइकनेस डिटेक्शन टुल प्रयोग गर्न सक्नेछन् । यसले प्लेटफर्ममा तपाईंको अनुमति बिना कसैले तपाईंको एआई–जेनेरेटेड फेस वा डीपफेक अनुहार प्रयोग गरेमा त्यसविरुद्ध तुरुन्तै कडा कारबाही गराउने शक्ति दिन सक्छ ।
युट्युबको यो नयाँ फिचरले एआईको मद्दतले प्लेटफर्ममा यस्ता भिडियोहरू खोज्छ, जसमा कुनै व्यक्तिको अनुहार वा लाइकनेस प्रयोग गरिएको हुन्छ । यो प्रणाली धेरै हदसम्म युट्युबको कन्टेन्ट आइडी टुलजस्तै काम गर्छ, तर फरक यति हो कि यहाँ कपिराइट कन्टेन्टको सट्टा व्यक्तिको अनुहारको पहिचान गरिन्छ ।

यो टुल कसरी काम गर्छ ?
यो फिचर कन्टेन्ट आइडी सिस्टमजस्तै काम गर्छ । जहाँ कन्टेन्ट आइडी ले कसैको चोरिएको अडियो वा भिडियो जस्ता कपिराइट सामग्री पत्ता लगाउँछ, त्यहीँ यो टुलले कुनै व्यक्तिको वास्तविक अनुहार अर्थात् लाइकनेसको चोरी खोज्छ ।
यो कसरी काम गर्छ भन्ने कुरा निकै सरल छ ।
सबैभन्दा पहिले प्रयोगकर्ताले सेल्फी–स्टाइल स्क्यान मार्फत आफ्नो वास्तविक अनुहार सिस्टममा अपलोड गर्नुपर्छ । त्यसपछि युट्युबको यो एआई टुलले प्लेटफर्मभरि रहेका अरबौँ भिडियोमा लगातार निगरानी राख्छ ।

प्लेटफर्ममा जहाँसुकै तपाईंको लाइकनेस अर्थात् हुबहु अनुहार भेटिएमा, प्रणालीले तुरुन्तै तपाईंलाई अलर्ट पठाउँछ । त्यसपछि प्रयोगकर्ताले त्यस्तो आपत्तिजनक सामाग्री हटाउने पूरा विकल्प पाउँछ ।
अहिलेसम्म यो फिचर केवल ठूला क्रिएटर्स, सरकारी अधिकारीहरू, पत्रकार, राजनीतिज्ञहरू र मनोरञ्जन क्षेत्रसँग जोडिएका व्यक्तिहरूका लागि मात्र उपलब्ध थियो । तर अब युट्युबले यसलाई सबै प्रयोगकर्ताका लागि रोलआउट गरेको छ । युट्युबका प्रवक्ता ज्याक मालोनका अनुसार कम्पनी प्लेटफर्ममा नयाँ र पुराना सबै क्रिएटर्सलाई समान सुरक्षा उपलब्ध गराउन चाहन्छ ।
कसरी प्रयोग गर्ने ?
यदि तपाईं पनि यो फिचर आफ्नो युट्युबमा एक्टिभेट गर्न चाहनुहुन्छ भने, तलका स्टेपहरू पालना गर्नुहोस्:
सबैभन्दा पहिले युट्युब भिडियो खोल्नुहोस् ।
बायाँतर्फ रहेको मेन्यु मा जानुहोस् ।
कन्टेन्ट डिटेक्शन अप्सनमा क्लिक गर्नुहोस् ।
त्यसपछि लाइकनेस सेक्सन छान्नुहोस् ।
त्यसपछि स्टार्ट नाउमा क्लिक गरेर सेटअप पूरा गर्नुहोस् ।
के कुरामा ध्यान दिनुपर्छ ?
युट्युबले स्पष्ट पारेको छ कि यो टुलले कहिलेकाहीँ त्यस्ता भिडियोहरू पनि देखाउन सक्छ, जसमा तपाईंको वास्तविक अनुहार हुन्छ र ती एआई–जेनेरेटेड हुँदैनन् । यस्ता कन्टेन्टलाई प्राइभेसी पोलिसी अन्तर्गत हटाउन सकिँदैन । कम्पनीका अनुसार अहिले यो फिचरमार्फत आउने रिमुभल रिक्वेस्टको संख्या निकै कम छ । तर पनि यो फिचरलाई महत्वपूर्ण मानिएको छ, किनकि धेरै पटक मानिसहरूको तस्बिर र भिडियोको गलत प्रयोग गरेर फेक सामाग्री बनाइन्छ । यस्तो अवस्थामा यो नयाँ फिचर डिजिटल सुरक्षा र अनलाइन प्राइभेसी बलियो बनाउने दिशामा ठूलो कदम मानिएको छ ।



















