काठमाण्डौं – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आफूहरु विशेष महाधिवेशनबाट आएको समितिभन्दा बलियो भएको बताएका छन । देउवा–कोइराला समूहको केन्द्रीय कार्यसमितिको अनौपचारिक बैठकमा सहभागी हुन महाराजगञ्जमा पुगेका बलायरले सञ्चारकर्मीहरूसँग सो कुरा बताएका हुन ।
उनले भने ‘हामी बलियो छौं, आधिकारिकता पुष्टि गरेर मात्र पुग्दैन । यो समय दुवै पक्षले चिन्तन गर्ने बेला हो ।’ बलायरले बल प्रयोग गरेर वा कसैलाई कमजोर देखाएर पार्टी बलियो नहुने बताए । उनले भने ‘कसैलाई खुल्याएर कोही बलियो हुने अवस्था छैन। सबै खुइलिएको अवस्था छ ।’


उनले पार्टीभित्र मतभेद उत्पन्न भएको बेलामा समानान्तर गतिविधि ग¥यो भन्नु उपयुक्त नहुने बताए । उनले पार्टीको आन्तरिक एकताका लागि दुवै पक्षलाई चिन्तन गर्न र वास्तविकता स्वीकार गरेर अघि बढ्न आग्रह समेत गरे । बलायरले भने, ‘हिजो व्यक्तिगत रुपमा यस्ता गतिविधि हुनविधि हुन्थे । अहिले नेताहरूले सामुहिक रुपमा गर्नुभएको हो ।’
मंगलबार नेपाली कांग्रेसको शेरबहादुर देउवा, पूर्णबहादुर खड्का र डा. शेखर कोइरालापक्षले १४ औँ महाधिवशेनका निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट निर्वाचित समितिसँग टसल बढिरहेका बेला इतरपक्षले केन्द्रीय समितिको बैठक बोलाएको हो ।
बैठकमा ६५ जनाभन्दा बढी निवर्तमान केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य सहभागी छन् । बैठकमा सुदूरपश्चिमका नेताहरु पनि सहभागी छन् । कांग्रेसका निवर्तमान सहमहामन्त्रीहरू बद्री पाण्डे र सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायर पनि बैठकमा पुगेका छन् ।
यस्तै, ईश्वरीदेवी न्यौपाने, दीलेन्द्र बडू, विद्यादेवी तिमल्सिना, अर्जुनजंगबहादुर सिंह, डा. रणबहादुर रावल, जीवन राना र सुशीला मिश्र पनि बैठकमा उपस्थित भएका छन ।



















