डडेलधुरा – जिल्लामा उत्पादित तरकारी र फलफूल बिक्री उद्देश्यले सदरमुकाममा हाटबजार सञ्चालन तयारी भएको भइरहेको छ । स्थानीय उत्पादन बिक्रीको सहज व्यवस्थाका लागि हाटबजार सुरू गर्न लागिएको हो ।
यसका लागि अमरगढी-५, का वडाध्यक्ष टंकबहादुर क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको छ । समितिले चैत १४ बाट हरेक शनिबार हाटबजार सञ्चालन गरिने जनाएको छ ।


हाटबजार सञ्चालनलाई किसानले सकारात्मक रूपमा लिएका छन् । गन्यापधुराका प्रसाददत्त अवस्थीले हाटबजारले स्थानीय उत्पादन प्रदर्शन र बिक्रीका लागि राम्रो अवसर सिर्जना गर्ने बताए । ‘किसानका लागि राम्रो अवसर हो,’ उनले भने, ‘ हाटबजारका माध्यमबाट ताजा तरकारी उपभोक्तासम्म पुर्याउन सकिने छ ।’
यहाँ उत्पादित तरकारी तथा अन्य कृषि उपज व्यापारीमार्फत सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । भातकाँडाका तिलकराज भट्टले बजार अभावले किसान मर्कामा परेको उल्लेख गरे । ‘तरकारी बेच्न किसानले १० जना व्यापारीसँग सोध्नुपर्ने बाध्यता छ,’उनले भने, ‘श्रम अनुसार मूल्य पाउनै मुस्किल हुन्छ ।’ हाटबजार सुरू भएपछि उचित मूल्य पाइन्छ कि भन्ने आशा लागेको उनले बताए ।
अहिले यहाँका बासिन्दाले उत्पादन गरेका तरकारी बिचौलियाले खेतबाटै खरिद गरी उपभोक्तालाई महँगोमा बेच्ने गरेको वडाध्यक्ष क्षेत्री बताए । बाटबजारमा किसानले आफ्ना उत्पादन ल्याएर बिक्री गर्न पाउने व्यवस्था गरिने उनले बताए ।

















