नेकपा (एमाले) र श्रम संस्कृती पार्टीले समानुपातिक सांसदको टुङ्गो लगाएका छन । एमालका उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुंगो लगाएको छ । पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णयहरू सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिए ।
आदिवासी जनजातितर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर (पुरूष) र कुलभक्त शाक्य (पुरूष) छन्। त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरूप्रसाद बराल (पुरूष), पुष्पराज कँडेल (पुरूष) र यशोदा कुमारी बराल (पिछडिएको क्षेत्र, अपाङ्गता तथा महिला क्लस्टरसमेत) रहेका छन्। थारूतर्फ कृपाराम राणा छन् भने दलिततर्फ विष्णुमाया विक र नीता घतानी छन्। त्यस्तै मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरूष) छन् । मुस्लिमतर्फ साजिदा सिद्धिकी रहेको उपमहासचिव भट्टले बताए ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीका ९७ वर्षीय बुवाको २९ गते बिहान भएको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले अध्यक्ष ओली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । त्यसैगरी, फागुन २८ गते पार्टीको समीक्षा बैठककै क्रममा हृदयघात भई निधन भएका केन्द्रीय सदस्य तथा कास्की संयोजक कृष्ण थापा र पार्टी प्रचारकै सिलसिलामा हृदयघातबाट ज्यान गुमाएका पूर्वकेन्द्रिय सदस्य तथा जनसांस्कृतिक महासंघका पूर्वअध्यक्ष खगेन्द्र राईको निधनप्रति पनि बैठकले शोक तथा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
श्रम संस्कृति पार्टीले पनि टुङ्ग्यायो नाम
यसैबिच श्रम संस्कृति पार्टीले पनि समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको छ ।
श्रम संस्कृति पार्टीका केन्द्रीय कोषाध्यक्ष समिता राईका अनुसार सो पार्टीले आदिवासी महिलाबाट हेटौँडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने गरी टुङ्गो लागेको छ ।



















