काठमाडौं – १६५ निर्वाचन क्षेत्रमा गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।
निर्वाचन आयोगका अनुसार, केही क्षेत्रमा भन्दा बाहेक देशभर अहिले मतगणना जारी छ । जसमध्ये २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

रास्वपाले जितेका क्षेत्र :
रास्वपाले एक सय बढी क्षेत्रमा अग्रता लिइरहेको छ भने १६ क्षेत्रमा जित निकालिसकेको छ ।
धनुषा–३
धनुषा–३ मा रास्वपाका मनिष झाले जित निकालेका छन् ।
कास्की–३
रास्वपाबाट गण्डकीमा एक्ली महिला उम्मेदवारका रूपमा खडा भएकी बिना गुरुङले कास्की–३ मा निर्वाचित भएकी छिन् ।
काठमाडौं–१०
काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । ३७ हजार ४६९ मतसहित रास्वपाका प्रदीप विष्ट विजयी भएका हुन् ।
मोरङ–४
मोरङ क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन् ।
कास्की–२
पत्रकारिताको माध्यमबाट सुशासन र पारदर्शिताको आवाज उठाउँदै आएका उत्तमप्रसाद पौडेल कास्की २ क्षेत्रबाट निर्वाचित भए ।
काठमाडौं–५
२०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन शाहलाई विजयी गराउन सडक, सामाजिक सञ्जाल तथा संगठनात्मक मोर्चामा अग्रपङ्क्तिमा खटिएका सस्मित पोखरेल काठमाडौं ५ बाट विजयी भएका छन् ।
काठमाडौं–४
२०७० को दोस्रो संविधानसभा र त्यसपछिका दुई वटा प्रतिनिधिसभा चुनाव हारेका पुकार बम यसपालि भने संसद् छिर्ने भएका छन् ।
काठमाडौं–६
काठमाडौं क्षेत्र नम्बर ६ मा रास्वपा उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
काठमाडौं–८
२०७९ को निर्वाचनमा सानदार जित हासिल गरेर संसद छिरेका विराजभक्त श्रेष्ठ पुन: यसै क्षेत्रबाट निर्वाचित भएका छन् ।
काठमाडौं–३
काठमाडौं ३ मा कुलमान घिसिङलाई हराउँदै राजुनाथ पाण्डे निर्वाचित भए । घिसिङले ११ हजार १७१ मत ल्याउँदा पाण्डेले १८ हजार ७५७ मत ल्याएका थिए ।
काठमाडौं–१
रञ्जु दर्शना (नेउपाने) विजयी भएकी छिन ।
काठमाडौं–९

यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक तथा उपसभापति डोल प्रसाद अर्यालले फराकिलो मतले जित हासिल गरेका छन ।
मोरङ–६
कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला ४२ हजार ६६३ मतान्तर सहित रास्वपाकी उम्मेदवार रुबिना आचार्यले जित निकालेकी छिन् ।
बाँके-१
बाँके–१ मा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भएका छन् ।
स्याङ्जा–१
स्याङ्जा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी विजयी भएका छन् ।
रुपन्देही–४
रुपन्देही–४ मा रास्वपाका उम्मेदवार कन्हैया बनियाँ निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस
अहिलेसम्म नेपाली कांग्रेसले मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ मा गरी चार वटा निर्वाचन क्षेत्रमा जित निकालेको छ ।
तेह्रथुम
तेह्रथुमबाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्बा विजयी भएका छन् ।
दैलेख–१
दैलेख १ मा बासना थापा विजयी भएकी छिन ।
रसुवा–१
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् ।
मुस्ताङ–१
कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन ।
मनाङ–१
मनाङ १ बाट टेकबहादुर गुरुङले जित निकालेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी
अहिले मत परिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टी तेस्रो स्थानमा छ । देशभर गरेर उसले दुई सिटमा जितेको छ ।
रूकुम पूर्व–१
साना कम्युनिष्ट पार्टीहरूलाई एक बनाएर निर्वाचनमा होमिएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व १ बाट निर्वाचित भएका छन ।
कालिकोट–१
यस निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट महेन्द्र बहादुर शाहीले दोस्रो जित निकालेका छन ।
नेकपा एमाले
बाँके–२
नेकपा एमालेले पहिलो जित बाँके–२ बाट निकालेको हो ।
एमालेमा नवप्रवेशी मोहम्मद ईश्तियाक राईले बाँके–२ बाट पहिलो जित दिलाए ।



















