धनगढी – नयाँ मोटरसाइकल चढ्ने सपना बोकेर खरिद गरेको भोलिपल्टै डडेल्धुराका एक प्रहरी जवानको सडक दुर्घटनामा मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको देवचुलीमा भएको दुर्घटनामा डडेल्धुराको अजयमेरु गाउँपालिका–१ घर भएका प्रहरी जवान लोकेन्द्र भण्डारीको मृत्यु भएको हो ।


भण्डारी नारायणगढबाट कावासोतीतर्फ जाँदै गर्दा उनी सवार बा.प्र.०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको नम्बर नखुलेको ट्र्याक्टरले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो । तर, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मोटरसाइकल खरिद गरेको भोलिपल्टै दुर्घटनामा ज्यान गुमाएका भण्डारीका श्रीमती र नाबालिका छोरी छन् ।


















