खाेज्नुहाेस

स्वास्थ्य युवा महोत्सव : अपाङ्गता भएका बालबालिकाको विशेष स्वास्थ्य परीक्षण गरिने

Image

अत्तरिया – कैलालीको अत्तरियामा आगामी मङ्सिर २ देखि ६ गतेसम्म आयोजना हुन गइरहेको ‘स्वास्थ्य युवा महोत्सव’मा अपाङ्गता भएका बालबालिकाहरूका लागि निशुल्क विशेष स्वास्थ्य परीक्षण तथा उपचार सेवा सञ्चालन गरिने भएको छ । महोत्सवमा बालबालिकाको स्वास्थ्य जाँचका साथै उनीहरूको अवस्था अनुसार आवश्यक पर्ने विभिन्न सहायक सामग्रीहरू समेत उपलब्ध गराइने भएको छ ।

सुदूरपश्चिम चेम्बर अफ कमर्सका अध्यक्ष तथा समृद्ध सुदूरपश्चिम अभियानका अभियन्ता विनोद मल्लले महोत्सवमा अपाङ्गता बालबालिकाहरूको विशेष स्वास्थ्य परीक्षण र उपचारका लागि विशेष कार्यक्रम राखिएको बताए । उनले परीक्षण पश्चात् बालबालिकालाई आवश्यक पर्ने सामग्री वितरण तथा थप उपचारको लागि पहल गरिने बताउँदै, यस्ता बालबालिका भएका परिवारहरूले यो अवसरको फाइदा उठाउन सकून भनी सबैलाई सूचना प्रवाह गर्न आग्रह गरेका छन् ।

attariya hospital

उनले भने ‘केही कार्यक्रम अपाङ्ग बालबालिकाहरूको लागि विशेष स्वास्थ्य परीक्षण र उपचार साथै उहाँहरूलाई चाहिने आवश्यक सामग्रीहरू त्यहाँ वितरण र थप उपचारको लागि अगाडि पहल गरिनेछ ।’

उक्त महोत्सवमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र, धनगढी शाखाले समेत सहभागिता जनाउने भएको छ । संस्थाकी प्रतिनिधि ललिता उपाध्यायका अनुसार शिविरमा बालबालिकामा हुने शारीरिक अपाङ्गताको परीक्षण गरी उनीहरूको आवश्यकता अनुसार विभिन्न सहायक सामग्रीहरू उपलब्ध गराइनेछ ।

उनले भनीन ‘परीक्षण गरेर आइसकेपछि चाहिँ उहाँहरूलाई के के आवश्यकता पर्छ हामीले त्यही अनुसार चाहिँ उहाँहरूलाई सहायक सामग्रीहरू चाहिँ उपलब्ध गराउँछौ ।’

navjiwan hospital

शिविरमा मस्तिष्क पक्षघात भएका बालबालिकालाई खुट्टाको समस्या समाधानका लागि एएफओ र खुट्टाका मांसपेशीहरू धेरै टाइट भएका बालबालिकाका मांसपेशीलाई सहज बनाउन मुख्यतया राति सुत्ने बेलामा लगाइने नी मोबिलाइजर ब्रेस उपलब्ध गराइनेछ ।

त्यसैगरी, जन्मजात पैताला भित्र फर्केका बालबालिकाका लागि शल्यक्रियापश्चात् लगाइने क्लब फुट सुज र डिबी स्प्लिन्ट समेत प्रदान गरिनेछ । बच्चा हिँड्न नथालेसमम २४ घण्टामा २३ घण्टासम्म डिबी स्प्लिन्ट लगाउनुपर्ने र कम्तीमा ५ देखि ६ वर्षसम्म नियमित फलोअप गर्नुपर्ने उपाध्यायले जानकारी दिएकी छिन् । बाल्यकालमै वा जन्मलगत्तै यस्ता समस्याहरूको उपचार गराएमा उत्कृष्ट नतिजा आउने भएकाले ढिला नगरिकन समयमै परीक्षण गराउन सम्बन्धित अभिभावकहरूलाई आग्रह गरिएको छ ।

समृद्ध सुदूरपश्चिम अभियानको आयोजना तथा सुदूरपश्चिम प्रदेश युवा चेम्बर, विभिन्न जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा अत्तरियास्थित पार्टनर प्यालेस तेघरीमा महोत्सव आयोजना हुँदैछ । ५ दिनसम्म चल्ने यस महोत्सवमा स्वास्थ्य सचेतना, विशेषज्ञ संवाद तथा बृहत् स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने जनाइएको छ ।

पछिल्लो समय बढ्दै गएका नसर्ने रोग, मानसिक स्वास्थ्य समस्या तथा अस्वस्थ जीवनशैलीका चुनौतीलाई मध्यनजर गर्दै आयोजना गर्न लागिएको यो महोत्सव स्वास्थ्य परीक्षणमा मात्र सीमित नरहेको आयोजकले जनाएका छन्। महोत्सवमा चिकित्सक, स्वास्थ्य विशेषज्ञ, विद्यार्थी, युवा र समुदायबीच प्रत्यक्ष सवाल–जवाफ, अन्तरक्रिया तथा संवादमार्फत स्वास्थ्य सचेतना अभिवृद्धि गरिनेछ ।

महोत्सवमा मानसिक स्वास्थ्य तथा कुलत नियन्त्रणअन्तर्गत बाल तथा किशोर मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, आत्महत्या रोकथाम तथा मदिरा, लागुऔषध र औषधिको दुरुपयोगसम्बन्धी परामर्श प्रदान गरिने जनाइएको छ । साथै, परम्परागत उपचार पद्धति र आधुनिक चिकित्साबीच संवाद गराउँदै स्वास्थ्य समस्या पहिचान, प्राथमिक उपचार र समयमै अस्पताल जानुपर्ने आवश्यकताकाबारेमा सचेतना जगाइनेछ ।

महोत्सवमा किशोरी, छोरी तथा आमाहरूको स्वास्थ्यलाई विशेष प्राथमिकता दिइएको छ । यस अन्तर्गत महिनावारी, रक्तअल्पता, प्रजनन स्वास्थ्य, पीसीओएस थाइराइड, हर्मोनसम्बन्धी समस्या, गर्भावस्था तथा मातृस्वास्थ्यका विषयमा विशेषज्ञ परामर्श दिइनेछ भने आमा र छोरीबीच स्वास्थ्यसम्बन्धी खुला संवादसमेत गराइनेछ ।

त्यसैगरी, स्वस्थ खानपान, पोषण, खाद्य स्वच्छता, मोटोपन, मधुमेह, उच्च रक्तचाप, मुटुरोगबाट बच्ने उपाय तथा पाचन प्रणालीको स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम पनि रहनेछन् । महोत्सवमा पाठेघरको मुखको क्यान्सर परीक्षण, आँखा परीक्षण, दन्त परीक्षण, योग, ध्यान तथा स्वस्थ जीवनशैलीबारे जानकारी दिइने आयोजकले जनाएको छ ।