आमा,
जब म सानो थिएँ,

तिमीले मेरै हात समाएर लेख्न सिकायौ
तर जीवनका पाना आज पनि
तिमी बिना अधुरा लाग्छन्।
तिमी सधैं भनथ्यौ,
छोरीले त घर सजाउने देवी हुनुपर्छ,
तर तिमी आफैं भने
मेरा सपनाको महल बनिरह्यौ ।
तिमी मेरो लागि सुखी थियौ,
गुरु थियौ,
र त्यो एउटी मात्र व्यक्तित्व जसलाई
जुनसुकै अवस्थामा पनि
“ममा गर्व छ” भनेर भन्न सक्थेँ ।
आज म ठूलो भएँ आमा,
आफ्नै घर, आफ्नै मान्छे,
तर यो मनको कुनामा
एउटी सानी छोरी अझै तिम्रो काख खोजिरहेकी छे ।
जब कोही दुःख दिन्छ,

तिम्रो त्यो “छोडिदे न नानी” भन्ने शब्द सम्झन्छु,
त्यो आवाजले अहिले पनि
मलाई सम्हाल्न सक्छ संसारको भीडमा।
कहिले काँही ऐना हेर्छु,
र आफूलाई तिमीभित्र खोज्छु,
मेरो अनुहारमा
तिमीले जस्तै झल्किन्छ मुस्कान।
म बुझ्न थालेकी छु आमा,
छोरी भएर तिमीले जुन पीडा सह्य गर्यौ,
त्यही पीडालाई म बिस्तारै बाँचिरहेकी छु
तर तिमीले जस्तो निष्ठा छैन ममा।
आमा,
मसँग शब्द छैनन् तिमीलाई धन्यवाद भन्न,
किनकि तिमीले दिएको माया
शब्दले मोल्नै सकिन्न।
तिमी बिना म अधूरी छु,
जसरी फूल बिना बगैंचा सुन्दर हुँदैन,
त्यसरी नै तिमी बिना
मेरो अस्तित्व अधुरो छ।
कवि निर्मला बम दार्चुला बहुमुखि क्याम्पसकी बिधार्थी हुन्।


















