खाेज्नुहाेस

किसानमैत्री वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री शाह

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानले आफ्नो लगानीअनुसार सहज रूपमा प्रतिफल प्राप्त गर्ने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन ।

बुधबार कैलालीको लम्कीचुहा नगरपालिका–४, कौवापुरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह भवनको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेशको अधिकांश जनसंख्या कृषि पेशामा आबद्ध रहेकाले कृषिमैत्री वातावरण सिर्जना गर्न सरकार सक्रिय रहेको धारणा व्यक्त गरे ।

attariya hospital
navjiwan hospital

उनले लम्कीचुहामा प्रादेशिक अस्पताल सञ्चालनका क्रममा देखिएका केही अवरोधप्रति दुःख व्यक्त गर्दै स्थानीय तहबाट आवश्यक सहयोग प्राप्त भए नमुना प्रादेशिक अस्पताल सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारे । साथै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका प्रयोगात्मक कक्षाहरू लम्कीचुहा प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

यसैबीच, तत्कालीन सत्तारूढ दल नेकपा (एमाले) का संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्रमा ५ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको आरोप लगाउँदै त्यसको पुष्टि गर्न चुनौती दिए ।

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालयको लागत साझेदारीमा निर्माण गरिएको हो । कृषि जन्य उद्योग स्थापना कार्यक्रमअन्तर्गत बिउ प्रशोधन मेसिनरी खरिद तथा जडान गरिएको यस आयोजनाको कार्यान्वयन सहकारी संस्थाले गरेको हो ।

आयोजनाको कुल सम्झौता रकम ३४ लाख ५७ हजार रुपैयाँ रहेकोमा बोलपत्र स्वीकृत रकम ३४ लाख ३० हजार रुपैयाँ कायम गरिएको छ । कृषि विकास निर्देशनालयबाट १७ लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराइएको छ भने बाँकी रकम सहकारी संस्थाले व्यहोरेको जनाएको छ । संस्थाका अनुसार वास्तविक लागत भने सम्झौताभन्दा केही बढी भएको छ ।