बेलौरी – पछिल्लो समय कञ्चनपुरको पुनर्वास, बेलौरीका विद्यालयमा विद्यार्थी बेहोस हुने समस्या देखिएपछि पठनपाठन प्रभावित हुन थालेको छ । विद्यार्थी बेहोस भएपछि कक्षाकोठामा पठनपाठन प्रभावित हुन थालेको हो । पुनर्वास नगरपालिका – ८ स्थित बागेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरू एक्कासि ढल्ने, चिच्याउने, कराउने र हाँस्नेजस्ता असामान्य लक्षण देखिन थालेपछि विद्यालयको शैक्षिक वातावरण प्रभावित भएको छ ।
विगत ३–४ दिनदेखि कक्षा ५ देखि ९ सम्म अध्ययनरत ३२ जना छात्राहरूमा एक्कासि यस्तो समस्या देखा परेको विद्यालयका प्रधानाध्यापक दिल्लीप्रसाद शर्माले बताए ।

विद्यार्थीहरूमा देखिएको यो स्वास्थ्य समस्याबारे चिकित्सकहरूसँग परामर्श गरिएको पुनर्वास नगरपालिकाले जनाएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख शिवराज भट्टका अनुसार विद्यार्थीहरूमा ‘मास कन्भर्सन डिसअर्डर’ नामक मनोसामाजिक समस्या देखा परेकाले उनीहरूको उपचारको उचित व्यवस्थापन मिलाइएको छ । काठमाडौँस्थित कान्ति बाल अस्पतालका चिकित्सकहरूसँग परामर्श गरी प्रभावित विद्यार्थीहरूलाई घरमै पुगेर औषधि उपलब्ध गराइने उनले बताए ।

यसअघिका वर्षहरूमा वडा नम्बर ९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय बिचफाँटाका विद्यार्थीहरूमा पनि यस्तै समस्या देखिने गरेको थियो । विद्यार्थीहरूमा अनौठो समस्या बढेपछि बागेश्वरी माध्यमिक विद्यालयले बिहीबार र शुक्रवार दुई दिन कक्षा ५ देखि ८ सम्मका कक्षा स्थगित गरी बिदा दिएको छ ।
बेलौरी नगरपालिकाकी मोसानजिक परामर्शदाता कृष्णी चौधरीले पछिल्लो समय बालबालिकामा देखिएको समस्या मास हिस्टोरिया भएको बताइन । उनले मास हिस्टेरियाको समस्या बढ्न थालेपछि नगरपालिकाले सचेतना कार्यक्रम सञ्चालन गरेको बताइन । उनका बुधवार बेलौरी नगरपालिका – १० को भगवानपुर माविमा मास हिस्टेरिया सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको बताइन । ‘मास हिस्टेरिया भनेको मनोसामाजिक समस्या हो । यो मानसिक तनाव, डर, त्रासका कारणले हुने गरेको छ’ उनले भनिन् ‘यसमा हामीले भूतप्रेत लागेको बोक्सी लागेको, अदृश्य शक्तिले समातेको भन्नु अन्धविश्वास हो ।’
उनले मास हेस्टिरियाको मुख्य लक्षणमा सबैभन्दा पहिला एक जनामा देखिएपछि अरूमा देखिने गरेको बताइन । ‘यो समस्यालाई अटेन्सन सिक भनिन्छ । यसमा माया नपाएर, तनावले, मेरो कुरा कोही पनि सुन्ने छैन । मलाई कसैले पनि बुझ्दैन सोच्ने बालबालिकामा यो समस्या हुन्छ’ उनले भनिन् ‘यो समस्या भएपछि चिच्याउने, सास फेर्न गाह्रो हुने, आँखा नदेख्ने, मांसपेशी कडा हुने समस्या देखिन्छन् ।’
यो समस्या तनाव व्यवस्थापन गर्न नसक्ने व्यक्तिलाई हुने बताउँदै उनले यस्ता विद्यार्थीको घरमा विद्यालयमा राम्रो सम्बन्ध भएकामा बढी हुने गरेको बताइन । उनले यो समस्याबाट जोगिनका लागि कक्षामा एक जना विद्यार्थीमा समस्या देखिहालेमा ती विद्यार्थीलाई एकदमै शान्त कोठामा राखेर निगरानी गर्नुपर्ने बताइन । ‘समस्या देखिएपछि लौ न के भयो के गर्ने होला, भनेर आत्तिएमा झन् बढी समस्या हुन सक्छ’ उनले भनिन ‘यो समस्या अरू विद्यार्थीमा देखिने भएकाले यस्तो समस्या देखिएका विद्यार्थीलाई शान्त कोठामा राखेर अरू विद्यार्थीहरूमा डर त्रास नफैलियोस् भनेर पठन पाठन नरोकेर मनोरञ्जनात्मक कार्यक्रममा सहभागी गराउने, हो हल्ला गर्न नदिने, समस्या भएका विद्यार्थीलाई हेर्न नदिने गर्नुपर्छ ।’
उनले यो सरुवा रोग नभएको बताउँदै यस्तो भ्रममा पनि नपर्न आग्रह गरिन । उनले यस्ता समस्या भएका बालबालिकालाई पछि काउन्सलर सँग भेटाएर समस्या समाधान गर्न सकिने बताइन ।

















