धनगढी – जिल्ला प्रशासन कार्यालय डोटी सुदूरपश्चिमको प्रसिद्ध धार्मिक धाम तथा पर्यटकीय गन्तव्य बडीमालिका पूजाका लागि ‘पेटारो’ (विशेष पूजा सामग्री) को तयारीमा जुटेको छ । बडीमालिका पूजाको १५ दिनअघि आउँदो साता साउन २८ मा डोटी गौडा (हालको जिल्ला प्रशासन कार्यालय) बाट परम्परागत पूजा सामग्रीसहितको टोली पैदल यात्रामा निस्कँदै छ ।
डोटीबाट पठाइने यो पेटारो परम्परा सुदूरपश्चिमको इतिहास र आस्थाको प्रतीक तथा संस्कृतिको गौरव पनि मानिन्छ ।


‘डोटी गौडाबाट हरेक वर्ष पेटारोसहित सरकारी पूजा टोली बडीमालिका प्रस्थान गर्ने परम्परा केवल धार्मिक अनुष्ठान मात्र होइन,’ डोटीस्थित शैलेश्वरी मन्दिरका पुजारी प्रेमशंकर भट्ट भन्छन्, ‘यो परम्परा त यस क्षेत्रको इतिहास, संस्कृति र आस्थाको जीवन्त प्रमाण हो ।’
बडीमालिका पूजा यात्राका लागि डोटीको सरकारी टोलीको औपचारिक सुरुवात श्रावण औँसीको अघिल्लो दिनबाटै हुन्छ । शैलेश्वरीका पुजारी प्रेमशंकर भट्टका अनुसार पेटारो बडीमालिका पठाउने दिन शिलगढीमा आराधनाका साथसाथै विशेष उत्सवका रूपमा मनाउने प्रचलन छ । सरकारी पूजा टोलीको यात्रा प्रतिपदाका दिनदेखि सुरु हुन्छ, जसको मार्ग र बासस्थान पूर्वनिर्धारित हुन्छ ।
पूजा टोलीमा संलग्न हुने व्यक्तिहरू र अन्य खटनपटन डोटी जिल्ला प्रशासन कार्यालयले गर्दै आएको छ । खर्च व्यवस्थापन भने डोटीका हरेक स्थानीय तहले पालैपालो गर्ने गर्छन् । यसपालि बोगटान–फुड्सिल गाउँपालिकाले खर्च व्यवस्थापन गर्ने निर्णय भएको डोटीका पर्यटन व्यवसायी दीपकबहादुर खड्काले बताए ।


















