काठमाडौं – नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट २०२५ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै साविक विजेता समेत रहेको पुलिसले चौथोपटक उपाधि जित्दै उपाधि रक्षा समेत गरेको हो ।
सिद्धार्थ क्रिकेट रंगशालामा भएको फाइनलमा पुलिस ६ विकेटले विजयी भयो । १५५ रनको लक्ष्य पुलिसले २५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

पुलिसका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६१ रन बनाए । ७० बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । हमित श्रेष्ठले ३९ रन बनाए । दिलिप नाथ ३१ रनमा अविजित रहे ।
आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भएको थियो । बसिर अहमदले १०४ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ८६ रन बनाए ।

गतवर्षको फाइनलमा पनि यी दुई टोली नै भिडेका थिए जहाँ आर्मीलाई हराउँदै पुलिसले उपाधि जितेको थियो । त्यस्तै जय ट्रफी एलिट कपको फाइनलमा पनि पुलिसले बाजी मारेको थियो ।
सन् २०१७ को पीएम कप फाइनलमा टाइ भएपछि यि दुवै टोलीले संयुक्त उपाधि जितेका थिए भने त्यसयता पुलिसले २ पटक उपाधि जित्दा आर्मीले १ पटक जितेको छ ।

आर्मी २०१७ देखि हरेक संस्करणमा फाइनलमा पुग्दा योसहित पाँचपटक फाइनलमा पराजित भएको छ । एकपटक पुलिससँगै संयुक्त उपाधि र २०२१ मा एपीएफलाई हराउँदै उपाधि जितेको थियो ।
पुलिस भने ४ पटक फाइनल खेल्दा ४ पटक नै उपाधि जितेको छ ।
आर्मी र पुलिससँगै शीर्ष ४ मा परेका एपीएफ क्लब र बागमती प्रदेश जय ट्रफी एलिट कपका लागि छनोट भइसकेका छन् ।