खाेज्नुहाेस

उपाधिपछि अब गाउँगाउँमा पुग्नेछ रोयल्सको ट्रफी

Image

अत्तरिया– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअघि सुदूरपश्चिममा क्रिकेटको माहोल बनाउन समर्थकमाझ पु¥याइएको ट्रफी अब उपाधि जितेको खुसी बाँड्न फेरि गाउँगाउँ पुग्ने भएको छ । पहिलोपटक एनपीएलको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ऐतिहासिक सफलताको उत्सव प्रदेशका नौवटै जिल्लामा मनाउने तयारी गरेको छ ।

प्रतियोगिताअघि समर्थकको साथ खोज्दै बस्तीबस्ती पुगेको ट्रफी यसपटक च्याम्पियन बनेको खुसी साट्न उनीहरूकै घरआँगनमा पुग्न लागेको हो । मैदानमा टोलीलाई साथ दिएका समर्थकलाई उपाधि उत्सवमा सहभागी गराउने उद्देश्यले रोयल्सले मंसिर १३ गतेदेखि एक सातासम्म ट्रफी टूर सञ्चालन गर्न लागेको छ ।

attariya hospital

रोयल्स व्यवस्थापन टोलीका संयोजक विकेश भण्डारीका अनुसार यसपटक प्रदेशका सबै जिल्लामा ट्रफी पु¥याउने तयारी गरिएको छ । पहिलोपटक उपाधि जितेको खुसी सम्पूर्ण सुदूरपश्चिमवासीसँग बाँड्न ट्रफी टूर आयोजना गर्न लागिएको उनले बताए ।

‘प्रतियोगिता अवधिभर सम्पूर्ण सुदूरपश्चिमबाट टोलीले जुन किसिमको समर्थन पाएको छ, त्यही समर्थनका कारण आज उपाधि जित्न सफल भएका छौँ,’ भण्डारीले भने, ‘यो जितको उत्सवमा समर्थकको सहभागिता महत्वपूर्ण हुने भएकाले यसपटक सबै जिल्लामा ट्रफी पु¥याउने हाम्रो लक्ष्य छ ।’

navjiwan hospital

उनका अनुसार ट्रफी जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै सुदूरपश्चिमका धार्मिक क्षेत्रहरूमा समेत पु¥याएर पूजाआजा गर्ने योजना बनाइएको छ । ट्रफीलाई आफ्नै जिल्लामा हेर्न र च्याम्पियन टोलीको सफलतामा खुसी साट्न पाउने अवसर सबै क्षेत्रका समर्थकलाई उपलब्ध गराउने रोयल्सको उद्देश्य रहेको उनले बताए ।

यसअघि एनपीएलको दोस्रो संस्करण सुरु हुनुअघि पनि रोयल्सले ट्रफी टूर सञ्चालन गरेको थियो । त्यतिबेला टीकापुरबाट सुरु भएको यात्रा चिसापानी, लम्की, घोडाघोडी, दोधारा–चाँदनी, महेन्द्रनगर, धनगढी र अत्तरियासम्म पुगेको थियो । तर, समय अभावका कारण पहाडी जिल्लामा ट्रफी पुगेको थिएन् । यसपटक भने पहाडी जिल्लालाई प्राथमिकतामा राखेर यात्रा तय गरिएको छ । मंसिर १३ गते अछामको बैजनाथ धाम मन्दिरबाट ट्रफी यात्रा सुरु हुनेछ । त्यहाँबाट साँफेबगर हुँदै सोही दिन बाजुराको मार्तडी पु¥याइने कार्यक्रम छ ।
मंसिर १४ गते डोटीको शैलेश्वरी मन्दिरबाट यात्रा सुरु गरी दिपायल बजार हुँदै डडेल्धुरा पु¥याइनेछ । सोही दिन डडेल्धुरास्थित उग्रतारा मन्दिरमा ट्रफीको पूजाआजा गर्ने कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी, मंसिर १५ गते बैतडीको निङ्गलाशैनी मन्दिरबाट ट्रफी यात्रा सुरु हुनेछ । मन्दिरबाट गोठालापानी बजारसम्म ¥याली निकालिनेछ । मंसिर १६ गते दार्चुलाको मालिकार्जुन मन्दिरबाट यात्रा सुरु गरी खलंगा बजारसम्म ¥याली गरिनेछ । त्यसपछि ट्रफी बझाङ लगिनेछ । मंसिर १७ गते बझाङको चैनपुर बजारमा ¥याली आयोजना गरिनेछ भने मंसिर १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी पु¥याइने कार्यक्रम छ ।

पहाडी जिल्लाको यात्रा सकेपछि ट्रफीलाई तराईका जिल्लामा लगिनेछ । मंसिर १९ गते कैलालीको टीकापुर पार्कबाट यात्रा सुरु हुनेछ । बिहान १० बजे चिसापानी, लम्की र घोडाघोडी ताल हुँदै दिउँसो २ बजे अत्तरिया पु¥याउने कार्यतालिका छ । त्यसपछि ट्रफी कञ्चनपुरको महेन्द्रनगर हुँदै दोधारा–चाँदनी पुलसम्म पु¥याइनेछ ।

ट्रफी यात्राको अन्तिम दिन मंसिर २० गते धनगढीमा विजय उत्सव आयोजना गरिनेछ । ट्रफी धनगढी ल्याएपछि महोत्सवस्थलमा कन्सर्ट गरिने रोयल्सले जनाएको छ । सुदूरपश्चिम रोयल्सका लागि यसपटकको उपाधि तेस्रो प्रयासको सफलता हो । एनपीएलका अघिल्ला दुई संस्करणमा फाइनलसम्म पुगे पनि उपविजेतामा सीमित भएको टोलीले तेस्रो संस्करणमा उपाधि जित्न सफल भएको हो । लगातारको प्रयासपछि प्राप्त सफलताले टोलीका समर्थकमा उत्साह थपेको छ ।

प्रतियोगिताअघि क्रिकेटप्रति आकर्षण बढाउन सीमित क्षेत्रमा गरिएको ट्रफी यात्रा यसपटक उपाधि उत्सवका रूपमा प्रदेशव्यापी बन्न लागेको छ । मैदानमा प्राप्त उपलब्धिलाई पहाडदेखि तराईसम्मका समर्थकसँग जोड्ने रोयल्सको यो अभियानले सुदूरपश्चिममा क्रिकेटको उत्साहलाई गाउँबस्तीसम्म पु¥याउने अपेक्षा गरिएको छ ।